Sunday, July 12

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

नेपालअखबार, बेनी । सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव एवं कृषि मेला’ आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुलामञ्चमा मेलाको आयोजना गरिनेछ ।

Advertisement

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको बताइन् । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी, स्थानीय उत्पादन र लघुउद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको खरिद बिक्री समेत हुने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

Advertisement
Advertisement

मेलामा खुला लोकनृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, दुनाटपरी र बाटेको धुप बनाउने प्रतियोगिता, खुला अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालयस्तरीय पेन्टिङ प्रतियोगिता र छेलोलगायत प्रतियोगिता सञ्चालन हुने महिला उद्यम विकास समितिले जनाएको छ ।

Advertisement

उद्यमशील सोचको विकासका लागि मेलामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको उद्यमशील व्यावसायिक योजना प्रतियोगिता समेत समावेश गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । उनले माघे संक्रान्ति मेलाले महिला उद्यमीहरुको नेतृत्व क्षमताको विकास हुनुको साथै जिल्लामा लुकेर रहेका प्रतिभा, कला संस्कृति र मौलिक भेषभूषाको समेत प्रवद्र्धनमा सघाउ पुग्ने बताए ।

मेलाको उद्घाटनका दिन बेनी बजारमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने भएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती समेत रहनेछ । मेलामा कृषि ज्ञान केन्द्रको सहकार्यमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनको प्रदर्शनी तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहकार्यमा पशुजन्य उत्पादनको प्रदर्शनी समेत राखिने भएको छ ।