Wednesday, July 22

भारतीय प्रधानमन्त्री मोदीले एक वर्ष सुन नकिन्न र खाने तेलको प्रयोग घटाउन आह्वान गरे, किन?

नेपालअखबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई एक वर्षसम्म सुन नकिन्न र खाने तेलको प्रयोग घटाउन आह्वान गरेका छन्।

Advertisement

आइतबार तेलंगाना भ्रमण क्रममा हैदराबाद र सिकन्दराबादमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्।

Advertisement
Advertisement

सुनका लागि संसारकै सबभन्दा ठूलो बजार भारत हो। त्यहाँ गहनाका रूपमा ठूलो परिमाणको सुन खपत हुन्छ। त्यस्तै, भारतीय जीवनशैलीको खानपानमा तेलको प्रयोग पनि अत्यधिक हुन्छ।

Advertisement

यस्तो अवस्थामा प्रधानमन्त्री मोदीले भारतीयहरूको जीवनशैलीमै असर पर्ने गरी सुन नकिन्न र तेल खपत घटाउन किन आह्वान गरे भन्ने अहिले चासोको विषय बनेको छ।

यसका पछाडि पछिल्लो समय आपूर्ति श्रृंखलामा देखिएको अवरोध र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण भारतमा ऊर्जा तथा अन्य आवश्यक वस्तुको मूल्यमा चाप पर्नु प्रमुख कारण रहेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

मोदीले पनि यसैलाई संकेत गर्दै जनसभामा भनेका थिए, ‘हाम्रो छिमेकमै ठूलो युद्ध चलिरहेको छ, जसको असर विश्वभर परेको छ र भारतमा अझ गम्भीर रूपमा परेको छ।’

उनका अनुसार भारतसँग पर्याप्त तेल स्रोत नभएकाले पेट्रोलियम पदार्थ, ग्यास र मल जस्ता वस्तु ठूलो मात्रामा आयात गर्नुपर्छ, जसका कारण विदेशी मुद्रामा दबाब परेको छ।

‘सरकारले नागरिकमाथि बोझ नपरोस् भनेर ठूलो हिस्सा आफै वहन गरिरहेको छ,’ उनले भने।

प्रधानमन्त्री मोदीले विदेशी मुद्रा बचतका लागि व्यक्तिगत व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनले एक वर्षसम्म सुनका गहना नकिन्ने संकल्प गर्न सबैसँग आग्रह गरे।

‘एक समय संकटमा मानिसहरूले देशका लागि सुन दान गर्थे, अहिले दानको आवश्यकता छैन, तर कम्तिमा एक वर्ष सुन नकिन्ने निर्णय गर्नुपर्छ,’ उनले भने।

त्यस्तै, खाने तेलको प्रयोग घटाउन पनि उनले आग्रह गरे।

‘खाने तेलको आयातमा ठूलो विदेशी मुद्रा खर्च हुन्छ। तेलको प्रयोग घटाउनु देश सेवा पनि हो र स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ,’ उनले भने।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको भारतीय राष्ट्रिय कंग्रेसले भने आलोचना गरेको छ।

कंग्रेस महासचिव केसी वेणुगोपालले सरकारले जनतालाई नै बोझ थोपार्न खोजिरहेको आरोप लगाए।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘विश्वव्यापी संकटबाट अर्थतन्त्र जोगाउन ठोस योजना ल्याउनुको सट्टा आम नागरिकलाई नै कठिनाइमा पार्ने काम भइरहेको छ, जुन गैरजिम्मेवार र अनैतिक हो।’

उनले ऊर्जा सुरक्षाका लागि पर्याप्त तयारी नगरेको भन्दै सरकारको आलोचना गरे।

पछिल्लो समय इरान, अमेरिका र इसराइलबीचको तनावका कारण विश्व अर्थतन्त्रमा अस्थिरता बढेको छ। यसको प्रभाव कच्चा तेल, सेयर बजार, मुद्रा र सुन–चाँदीमा देखिएको छ।

सन् २०२५ मा सुनको मूल्य ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो। भू–राजनीतिक तनाव बढेसँगै लगानीकर्ताहरू जोखिमपूर्ण क्षेत्रबाट हटेर सुनजस्ता परम्परागत सुरक्षित सम्पत्तिमा लगानी गर्न थालेका छन्।

त्यस्तै, डोनाल्ड ट्रम्प का नीतिहरू र अन्तर्राष्ट्रिय घटनाक्रमले पनि बजारमा अस्थिरता ल्याएको विश्लेषण गरिएको छ।

केन्द्रीय बैंकहरूले पनि पछिल्ला वर्षहरूमा सुनको खरिद बढाएका छन्। चीन, पोल्यान्ड, टर्की, भारत र कजाकिस्तान जस्ता देशले आफ्नो रिजर्भमा सुनको हिस्सा बढाउँदै लगेका छन्।

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको प्रभुत्व घट्दै जाँदा सुनप्रतिको निर्भरता बढ्दै गएको छ, जसले यसको मूल्य अझै माथि धकेलिरहेको छ।