
नेपालअखबार,न्युयोर्क । एलन मस्कको स्पेसएक्स कम्पनीले अमेरिकी सेयर बजारमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यससँगै अब सर्वसाधारणले पनि सेयर बजारमा यस कम्पनीको सेयर खरिद–बिक्री गर्न पाउने भएका छन्।
स्पेसएक्सले रकेट निर्माण गर्नुका साथै स्टारलिंक नामक भूउपग्रह इन्टरनेट सेवा प्रवाह गर्छ र मस्कको विवादित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआई पनि यसैको मातहतमा रहेको छ। अमेरिकी सेयर बजारको इतिहासमै सबैभन्दा ठुलो मानिएको यो आईपीओ आगामी महिनादेखि ‘एसपीसीएक्स’ संकेत चिन्न अन्तर्गत कारोबारमा आउन सक्नेछ।
स्पेसएक्समा रहेको आफ्नो स्वामित्वका कारण यो आईपीओले विश्वकै सबैभन्दा धनी व्यक्ति मस्कलाई पहिलो ट्रिलियनियर बनाउन सक्नेछ। स्पेसएक्सले आफ्नो मूल्यांकन १.२५ ट्रिलियन डलर गरेको छ र कम्पनीमा बहुमत स्वामित्व रहेकाले मस्कको हिस्सा मात्रै ६०० अर्ब डलरभन्दा बढीको हुनेछ। इलेक्ट्रिक सवारी उत्पादक कम्पनी टेस्लाका प्रमुख समेत रहेका मस्क गत वर्ष ५०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने विश्वकै पहिलो व्यक्ति बनेका थिए। स्पेसएक्सको सेयर बजारमा सूचीकरणसँगै उनको कुल सम्पत्ति १ ट्रिलियन डलरभन्दा माथि पुग्नेछ।
यो आवेदनले लामो समयदेखि पर्खाइमा रहेको स्पेसएक्सको वित्तीय अवस्थालाई पनि बाहिर ल्याएको छ। आधिकारिक रूपमा स्पेस एक्सपोरेशन टेक्नोलोजिज भनिने यस कम्पनीले गत वर्ष १८.६ अर्ब डलर आम्दानी गरे पनि ४.९ अर्ब डलर खुद नोक्सानी बेहोरेको थियो।
त्यस्तै यस वर्षको पहिलो तीन महिनामा कम्पनीले ४.७ अर्ब डलरको बिक्री गरे पनि ४.३ अर्ब डलर खुद नोक्सान ब्यहोरेको छ। कम्पनीको वासलात अनुसार रकेट र अन्य उपकरण सहित १०२ अर्ब डलर बराबरको सम्पत्ति छ भने ६०.५ अर्ब डलर ऋण रहेको छ।
स्पेसएक्सले विभिन्न मुद्दा मामिलाका कारण ५० करोड डलरभन्दा बढी कानुनी लागत लाग्न सक्ने संकेत पनि गरेको छ। एक्सएआईले बनाएको च्याटबट ‘ग्रोक’ प्रयोग गरेर महिला तथा बालिकाहरूको यौनजन्य डीपफेक बनाइएको दाबी गर्दै हालिएका धेरै वटा मुद्दाहरू यसमा समावेश छन्। मस्कले एक्सएआईलाई भंग गरेर स्पेसएक्स अन्तर्गत नै आफ्नो एआई महत्त्वाकांक्षालाई अघि बढाउने योजना बनाएका छन्।
मस्कले सन् २०२२ मा खरिद गरेको सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) पनि स्पेसएक्सकै स्वामित्वमा रहेको छ। आईपीओ दस्तावेजमा उल्लेख भए अनुसार स्पेसएक्सले पेटेन्ट उल्लंघन, युरोपेली संघको सामग्री सञ्चालन नियमको उल्लंघन, संगीत प्रतिलिपि अधिकार उल्लंघन र डाटा चोरी सम्बन्धी अन्य मुद्दाहरू पनि झेलिरहेको छ।

