नेपाल अखबार, काठमाडौं । नेपाल एयरलाइन्सले चिनियाँ जहाजहरुबाट व्यावसायिक उडान नगर्ने निर्णय गरेको छ । हाल निगमसँग ६ वटा चिनियाँ जहाज रहेकोमा कुनैबाट पनि मुनाफा आर्जन हुन नसकेपछि आगामी साउन १५ देखि व्यवसायिक उडान नै नगर्ने निर्णय लिएको हो ।
चिनियाँ जहाजको बिमा रकम अन्य जहाजहरुको भन्दा करिब ३५ प्रतिशत बढी रहेको, जहाज चलाउन पाइलटको अभाव रहेको, जहाजको स्पेयर पार्टस् महँगो रहेको जस्ता कारणले जहाज नचलाउने निर्णय भएको एयरलाइन्सले जनाएको छ ।
यस्तै जहाजको प्रशिक्षक पाइलट अभाव रहेको, स्टल रुटमा प्रस्तावित जहाजहरुमा २५ देखि ६७ प्रतिशतसम्म पेलोडरेष्टिट्रक्सन रहेको, इन्धन खर्च पनि बढीरहेको जस्ता ८ वटा कारण निगमले देखाएको छ ।
एयरलाइन्सलाई चिनियाँ ६ वटा जहाजबाट मात्रै आर्थिक वर्ष २०७१–७२ देखि आर्थिक वर्ष २०७५–७६ सम्म ५ आर्थिक वर्षमा १ अर्ब ९० करोड नोक्सान भएको जनाइएको छ । अब पनि सञ्चालन गर्दै जाँदा प्रतिवर्ष यी जहाजबाट वार्षिक ३८ करोड नोक्सान हुने एयरलाइन्सको भनाइ छ ।

