
नेपालअखबार,काठमाडौँ । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ सय पुगेको छ।
गत बुधबार ७.२ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या सोमबारसम्म १५ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अझै करिब ५० हजार मानिसको अवस्था अज्ञात रहेको बताइएको छ। त्यस्तै ३ हजार १५० जना घाइते भएका छन् भने १२ हजार ७२१ जना विस्थापित भएका छन्।
साथै ७७४ वटा भवन पूर्ण रूपमा भत्किएका छन्।
सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा विदेशी उद्धार टोलीहरू समेत परिचालन गरिएका छन्। उद्धार अभियानका क्रममा आइतबार पनि केही व्यक्तिलाई जीवितै बाहिर निकालिएको छ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उद्धार र पुनःस्थापना अभियान जारी रहको बताइन्।
‘आज पनि केही मानिसलाई जीवितै उद्धार गरिएको छ, त्यसैले अभियान रोकिएको छैन। हामी सधैं आशा कायम राख्छौं,’ उनले भनिन्।
उनले विद्यालयहरू थप एक साताका लागि बन्द रहने र ला ग्वाइरामा ७५ प्रतिशत विद्युत् सेवा पुनः सञ्चालनमा आएको पनि बताइन्।
सरकारले सुरुमा राहत सामग्री पुर्याउने स्वयंसेवकहरूलाई धन्यवाद दिए पनि पछि आपत्कालीन सवारीसाधनको आवागमन सहज बनाउन प्रभावित क्षेत्रमा जाने सडकमा पहुँच सीमित गरेको छ।
भत्किएका भवनको भग्नावशेषबाट आफन्त र स्वयंसेवकहरूले विदेशी टोली आइपुग्नुअघि नै दिनरात उद्धार कार्य गरिरहेका थिए। उनीहरूले पर्याप्त भारी उपकरण र सरकारी उपस्थितिको अभाव भएको गुनासो गर्दै आएका छन्। लगातार परकम्प गइरहेका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।
सरकारका अनुसार शनिबार साँझसम्म कम्तीमा ३३ जनालाई जीवितै उद्धार गरिएको थियो। आइतबार पनि एक पिता र उनका छोरालाई भत्किएको भवनको भग्नावशेषबाट सकुशल निकालिएको छ।
यद्यपि विपक्षी पक्षले सञ्चालन गरेको बेपत्ता व्यक्तिको अनलाइन सूचीमा आइतबारसम्म करिब ५० हजार मानिस सम्पर्कविहीन रहेको उल्लेख गरिएको छ। यो संख्या अघिल्लो दिनको ५५ हजारबाट केही घटेको हो।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले ७.२ र ७.५ म्याग्निच्युडका ती दुई भूकम्पबाट १० हजारभन्दा बढी मानिसको ज्यान जान सक्ने अनुमान गरेको छ।
यदि त्यसो भए यो पछिल्लो शताब्दीका ल्याटिन अमेरिकाकै सबैभन्दा घातक भूकम्पमध्ये एक बन्नेछ।
मेक्सिकोको उद्धार टोलीले पनि काराबायेदामा भत्किएको भवनबाट अर्का ११ वर्षीय बालकलाई जीवितै बाहिर निकालेको छ।
रोममा एन्जेलस प्रार्थनाका क्रममा पोप लियोले भूकम्पपीडित भेनेजुएली नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धारकर्मीहरूको समर्पणको प्रशंसा गरेका छन्।
यसैबीच अमेरिकी प्रशासनले यसअघि घोषणा गरिएको १५ करोड अमेरिकी डलरको सहयोगबाहेक थप सयौं मिलियन डलर बराबरको राहत प्याकेज सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
भूकम्पको प्रभावका कारण भेनेजुएलाको सबैभन्दा ठूलो अमुआय तेल प्रशोधन केन्द्र पनि आइतबार ठूलो विद्युत् अवरोधपछि बन्द भएको छ।

