Saturday, August 15

हुलाकी राजमार्गको हाटखोला–कटहरी खण्ड तत्काल सम्पन्न गर्न सीएनआई कोशीको माग

नेपालअखबार, विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले मोरङको मुख्य औद्योगिक कोरिडोरमा पर्ने हुलाकी राजमार्गअन्तर्गतको हाटखोला–कटहरी खण्डको निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गरेको छ ।

Advertisement

परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै विगत लामो समयदेखि अलपत्र परेको करिब ६–७ किलोमिटर सडक खण्डका कारण उद्योग र सर्वसाधारणले चरम सास्ती भोग्नुपरेको जनाएको छ ।

Advertisement
Advertisement

परिसंघका अध्यक्ष पवन कुमार सारडाले बुझाएको पत्रमा २०७६ सालमा ठेक्का सम्झौता भए तापनि हालसम्म सडक निर्माणको काम शून्य प्रायः रहेको उल्लेख गरिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यस सडक खण्डको नाजुक अवस्थाले गर्दा मोरङको औद्योगिक वातावरणमा गम्भीर नकारात्मक असर परेको परिसंघको ठहर छ ।

Advertisement

सडकमा रहेका ठुला–ठुला खाडल र दलदलका कारण कच्चा पदार्थ र तयारी सामान बोकेका ट्रक तथा कन्टेनरहरू दैनिक रूपमा पल्टिने गरेका छन् । यसले गर्दा लाखौँको सामान नष्ट हुनुका साथै आपूर्ति शृङ्खला पूर्ण रूपमा ठप्प भएको पत्रमा उल्लेख छ । यस्तै विराटनगर र कटहरी जोड्ने ५० वर्ष पुरानो सिंघिया नदीको पुल अत्यन्तै जीर्ण अवस्थामा रहेको र कुनै पनि बेला भत्किन सक्ने खतरा रहेको छ । हाल एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको यो पुल भत्किएमा औद्योगिक कोरिडोरको आवागमन पूर्ण रूपमा बन्द हुने भन्दै परिसंघले तत्काल नयाँ पुल निर्माण वा ‘रेट्रोफिटिङ’ गर्न माग गरेको छ ।

हिउँदमा धुलो र वर्षामा हिलोका कारण स्थानीय नागरिकलाई आवतजावतमा कठिनाइ भएको छ । विशेषगरी विद्यालय जाने बालबालिका समयमा विद्यालय पुग्न नसक्ने र सर्वसाधारणको स्वास्थ्यमा समेत गम्भीर जोखिम बढेको पत्रमा उल्लेख छ ।

ढुवानी लागत दोब्बर हुनु, सामान समयमा बजार पुर्‍याउन नसक्नु र कच्चा पदार्थको अभावका कारण उद्योगहरूको उत्पादकत्व खस्किएको छ । यसको प्रत्यक्ष असर मुलुकको राष्ट्रिय अर्थतन्त्र र राजस्व संकलनमा परेको परिसंघको दाबी छ ।

परिसंघले पटक–पटक गरिएका लिखित प्रतिबद्धताहरूको उल्लंघन भएको भन्दै अब ‘युद्धस्तर’मा सडक निर्माण कार्य अगाडि बढाउन सरकारसँग जोडदार माग गरेको छ । उक्त ध्यानाकर्षण पत्रको बोधार्थ कोशी प्रदेशका मुख्यमन्त्री, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक र मोरङका प्रमुख जिल्ला अधिकारीलाई समेत दिइएको छ ।