Sunday, August 16

इजरायली वैज्ञानिकले बोटमै बनाए दुधको प्रोटिन

नेपालअखबार,तेल अभिभ । इजरायलका वैज्ञानिकहरूले बोटमै गाईको दुधमा पाइने महत्त्वपूर्ण प्रोटिन बेटा–केसिन उत्पादन गर्ने प्रविधिको विकास गरेका छन् ।

Advertisement

यस प्रविधिले भविष्यमा गाई पाल्दै नपाली दुधजन्य प्रोटिन उत्पादन गर्ने बाटो खोल्न सक्ने आशा बढाएको जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले भनेका छन् । अनुसन्धान टोलीले सुरुमा प्रयोगशालामा अरबिडोप्सिस थालियाना नाम गरेको बोटमा बेटा–केसिन उत्पादन हुने गरी आनुवंशिक परिवर्तन गरेको थियो ।

Advertisement
Advertisement

त्यसपछि उनीहरूले सुक्खा मौसम सहन सक्ने र तेल उत्पादनका लागि प्रयोग हुने साफ्लावरको बोटमा पनि यही प्रविधि प्रयोग गरे । बेटा–केसिन दुधमा पाइने महत्त्वपूर्ण प्रोटिन हो । यसले चिजलाई जम्न, पग्लिन अनि यसको बनावट कायम राख्न भूमिका खेल्छ । साथै यो हड्डी निर्माणका लागि आवश्यक पोषणसँग पनि सम्बन्धित रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

Advertisement

वैज्ञानिकहरूले साफ्लावरका बियाँलाई आनुवंशिक रूपमा परिवर्तन गरी त्यसमा बेटा–केसिन उत्पादन गराएका थिए । अनुसन्धानका क्रममा बियाँभित्र प्रोटिन प्राकृतिक दुधमा केसिन भण्डारण हुने संरचनाजस्तै संरचनामा जम्मा भएको उनीहरूले पत्ता लगाए । सबैभन्दा राम्रो परिणाम दिने बोटमा कुल घुलनशील बियाँ प्रोटिनको करिब १ दशमलव २६ प्रतिशत बेटा–केसिन रहेको थियो । अनुसन्धानकर्ताहरूका अनुसार बोटबाट केसिन उत्पादनसम्बन्धी यसअघिका केही अध्ययनको तुलनामा यो मात्रा उल्लेखनीय हो ।

बियाँलाई प्रेसमा राखेर त्यसबाट निस्किएको मिश्रणलाई छुट्याउन सकिने अनुसन्धान टोलीका प्रमुख प्राध्यापक ओदेद शोसेयोभले भनेका छन् । सेन्ट्रिफ्युज प्रयोग गरेर प्रोटिनयुक्त ‘क्रिम’ र ठोस पदार्थ अलग गर्न सकिने उनको भनाइ छ । यो प्रविधिले परम्परागत डेरी उद्योगको वातावरणीय प्रभाव र उत्पादन लागत घटाउन सक्ने सम्भावना अनुसन्धानकर्ताहरूले देखेका छन् । उनीहरूका अनुसार पशुपालनबाट विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ठूलो योगदान पुग्छ ।

प्राध्यापक शोसेयोभले आनुवंशिक प्रविधिको प्रयोग गरेर दुधका प्रोटिन उत्पादन गर्ने जीनलाई बढी प्रभावकारी अर्को जीवमा स्थानान्तरण गर्न सकिने र यसबाट स्रोतको प्रयोग तथा उत्सर्जन घटाउन सकिने बताएका छन् ।

विश्वव्यापी डेरी उद्योगको आकार पनि ठुलो भएकाले यस्तो प्रविधिको व्यावसायिक सम्भावना उच्च रहेको अनुसन्धानकर्ताहरूको विश्वास छ । यद्यपि यो प्रविधि अहिले नै बजारमा गाईको दुधको पूर्ण विकल्प बनिसकेको भने छैन । यस अनुसन्धानको नतिजा फ्रन्टियर्स इन प्लान्ट साइन्समा प्रकाशित गरिएको छ ।