
नेपालअखबार,काठमाडौं । सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनका यात्रुले राजमार्गमा खाना तथा खाजा खाने क्रममा बिरामी भए कारबाही गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको सम्बन्धित निकायहरूको बैठकले सो निर्णय गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, यात्रुले खाना तथा खाजा खाने होटल र रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना, न्यून गुणस्तरका खाद्य पदार्थ र चर्को मूल्य असुलीजस्ता गुनासो बढेपछि यस्तो निर्णय भएको हो । यात्राका क्रममा यस्ता समस्या भोग्नुपरेमा प्रहरी हेल्पलाइन नम्बर १०० मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
सार्वजनिक यात्रुवाहक सवारी साधनको चालकले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने स्थानका (सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टिकर टाँसिएको) होटल तथा रेष्टुरेन्टहरूलाई उच्च प्राथमिकता दिई खाजा, नास्ता र खानाको लागि रोक्नुपर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, राजमार्गका होटल तथा रेष्टुरेन्टमा सुक्ष्म निगरानी भइरहेको पनि सरकारले जनाएको छ ।
‘यदि ती होटल–रेष्टुरेन्टहरूमा खाजा, नास्ता र खानाको कारणले यात्रुहरू बिरामी भएको पाईएमा सम्बन्धित सवारी चालक र होटल/रेष्टुरेन्ट संचालकलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।





