
नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ भन्सार दर लगाउने घोषणा गरेका छन्।
नयाँ प्रस्तावअनुसार देश हेरेर १० देखि ४० प्रतिशतसम्म कर लगाउने ट्रम्पले घोषणा गरेका हुन्।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले बुधबार आठ महिनासम्म गरेको अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्दै नयाँ करको प्रस्ताव अघि सारेको रोयटर्सले जनाएको छ।
चीन, जापान, भारत, दक्षिण कोरिया, भियतनाम, बंगलादेश र युरोपेली संघसहितका व्यापारिक साझेदार यसमा समेटिएका छन्।
अमेरिकी प्रशासनले ती देशमा औद्योगिक उत्पादन क्षमता आवश्यकताभन्दा बढी रहेको र सरकारी अनुदान तथा अन्य सहयोगका कारण विश्व बजारमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको आरोप लगाएको छ।
त्यसलाई नियन्त्रण गर्न नयाँ कर लगाउन खोजिएको अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले जनाएको छ।
प्रस्तावअनुसार चीनबाट आयात हुने सामानमा अधिकतम २० प्रतिशत कर लाग्नेछ।
अमेरिका र चीनबीचको व्यापार युद्धविराम सम्झौता आगामी जनवरी १० मा सकिँदैछ। उक्त सम्झौता भंग भए चीनमाथिको कर ४० प्रतिशतसम्म पुग्न सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।
भारतसँग व्यापार सम्झौता भए १७ प्रतिशत र सम्झौता हुन नसके २५ प्रतिशत कर लगाउने प्रस्ताव छ। भियतनाममाथि सम्झौता भए २० प्रतिशत र सम्झौता हुन नसके ३५ प्रतिशतसम्म कर लाग्नेछ।
त्यस्तै, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र बंगलादेशका सामानमा अधिकतम १८ प्रतिशत कर प्रस्ताव गरिएको छ।
जापान, दक्षिण कोरिया, ताइवान, युरोपेली संघ र स्विट्जरल्यान्डका सामानमा हालको सबैभन्दा अनुकूल व्यापारिक दरसमेत जोडेर १५ प्रतिशतसम्म कर लाग्नेछ। सिंगापुरका लागि अधिकतम १० प्रतिशतको दर प्रस्ताव गरिएको छ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ करले अमेरिकी उत्पादन क्षेत्रलाई असर पार्ने विदेशी औद्योगिक नीतिलाई निरुत्साहित गर्ने बताएका छन्।
उनका अनुसार केही देशले सरकारी अनुदान, श्रमिकको ज्याला र अधिकारमा नियन्त्रण तथा अन्य आर्थिक सहयोगमार्फत आफ्ना उद्योगलाई अनुचित लाभ दिइरहेका छन्।
नयाँ कर प्रस्ताव आगामी जनवरी २५ मा हुने सार्वजनिक सुनुवाइपछि मात्रै कार्यान्वयनमा आउनेछ। यसअघि श्रम शोषण रोक्न पर्याप्त कदम नचालेको भन्दै ६० अर्थतन्त्रबाट आयात हुने सामानमा लगाइएको करमा यो थपिने छैन।
स्टिल, आल्मुनियम र मोटरगाडीलगायतमा राष्ट्रिय सुरक्षा कारणले लगाइएका क्षेत्रगत कर पनि यसमा जोडिने छैनन्।
यसैबीच, अमेरिकाले ब्राजिलबाट आयात हुने एम्ब्राएर कम्पनीका व्यावसायिक विमानमा थप १० प्रतिशत कर लगाउने प्रस्ताव गरेको छ।
त्यस्तै, कोटाभन्दा बढी आयात हुने ब्राजिलको चिनीमा पनि कर बढाउन खोजिएको छ। ब्राजिलमाथि यसअघि लगाइएको २५ प्रतिशत करबाट यी वस्तुलाई छुट दिइएको थियो।
चीनले भने अमेरिकाको आरोप अस्वीकार गरेको छ। वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले औद्योगिक उत्पादन क्षमता आवश्यकताभन्दा बढी रहेको भन्ने आरोप वास्तविक नभएको बताएका छन्।
उनले यस विषयलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गर्दै ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएका सहमति कार्यान्वयन गर्न दुवै देशलाई आग्रह गरेका छन्।
ट्रम्पको भन्सार कर र त्यसले अमेरिकी उपभोक्ताको जीवनयापन खर्च बढाएको विषय मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीको जितका प्रमुख मुद्दामध्ये एक थियो।
रिपब्लिकन पार्टीको हारपछि रोयटर्स र इप्सोसले गरेको सर्वेक्षणमा ६२ प्रतिशत उत्तरदाताले ट्रम्पका कर खारेज गर्ने डेमोक्र्याटिक प्रयासलाई समर्थन गरेका थिए।
अमेरिकी सिनेटर रोन वाइडेनले मतदाताले ट्रम्पको व्यापार नीतिलाई अस्वीकार गरेको एक महिनाभित्रै उनले फेरि अमेरिकी नागरिकका लागि मूल्य बढाउने निर्णय गरेको टिप्पणी गरेका छन्।
आगामी जनवरीदेखि सिनेटको वित्त समिति सभापति बन्ने अपेक्षा गरिएका वाइडेनले ट्रम्पका कर अन्त्य गर्न उपलब्ध सबै उपाय प्रयोग गर्ने बताएका छन्।
तर नयाँ कर खारेज गर्न सजिलो नहुने विश्लेषकहरूको भनाइ छ। अमेरिकामा चीनको औद्योगिक उत्पादन क्षमतामाथि नियन्त्रण गर्नुपर्ने विषयमा रिपब्लिकन र डेमोक्र्याट दुवै दलभित्र समर्थन छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका पूर्वअधिकारी नाथानियल हाल्भर्सनले कर हटाउँदा केही देशसँग भएका व्यापार सम्झौतासमेत भत्किन सक्ने बताएका छन्।
नयाँ कर प्रस्ताव सार्वजनिक भएसँगै बुधबार अमेरिकी सेयर बजारमा पनि दबाब परेको थियो। प्रविधि कम्पनीका सेयरमा पुनः गिरावट आउँदा न्यास्ड्याक सूचक तीन प्रतिशतभन्दा बढीले ओरालो लागेको थियो।




