नेपाल अखबार, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२ औं श्रृंखलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ । यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्यांकमा सुलभ पहुँच हुने विभागले जनाएको छ ।
गत आर्थिक वर्षदेखि तयारी सुरु गरिएको यस गणनामा नेपालको जनसंख्या ३ करोड पुग्ने अनुमान गरिएको छ । नेपालमा हालसम्म ११ जनगणना सम्पन्न भइसकेका छन् । पहिलो जनगणना विसं १९६८ चन्द्रशमसेरका पालामा भएको थियो । पहिलो ४ जनगणना विसं १९६८, १९७७, १९८७ र १९९८ मा व्यक्ति–व्यक्ति गनेर गरिएको थियो ।
त्यस्तै विसं २००८ मा पाँचौं गणनाको तयारी हुँदाहुँदै राणाशासनविरुद्धको जनआन्दोलनले गर्दा गणनाको काम बीचैमा रोकिएको थियो । विसं २००९/११ को गणना (पाँचौं) अन्तर्राष्ट्रियरूपमा तुलनायोग्य, विसं २०४८ गणनामा पहिलोपटक लैंगिक तथा समावेशी गरिएको थियो भने विसं २०५८ मा पहिलोपटक राष्ट्रिय दिवसका रूपमा जनगणना दिवस (असार ८ गते) मनाउन थालिएको हो ।
विसं २०६८ मा जनगणनाको १०० वर्ष पूरा, ११ औं जनगणनामा पशुपंक्षीको समेत पूर्ण गणना गरिएको थियो भने विसं २०७८ हुने गणना संघीय संरचनामा पहिलो जनगणना हुनेछ । जनगणनाको संस्थागत व्यवस्था हेर्दा सबैभन्दा माथि राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्यांक विभाग, सामाजिक तथ्यांक महाशाखा, जनसंख्या शाखा, प्रदेश जनगणना कार्यालय, जिल्ला जनगणना कार्यालय, स्थानीय जनगणना कार्यालय रहेको छ । यस गणनामा ९ हजार सुपरीवेक्षक र ४३ हजार गणक रहने लामिछानेले बताए ।
विभागले विभिन्न जातजाति, भाषा, धर्म, क्षेत्र, वर्ग, अपांगता, बालबालिका तथा ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यकलगायत नागरिक समाजका संघसंस्था तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रमका साथै नमूना (पाइलट) जनगणना गत असार १५ गते सम्पन्न गरिसकेको छ । रासस

