Friday, May 22

भारतीय काँग्रेसको अध्यक्ष पद, सोनियाकै निरन्तरता

नेपाल अखबार, एजेन्सि। अन्ततः भारतीय काँग्रेसका अन्तरिम अध्यक्षमा सोनिया गान्धीलाई नै निरन्तरता दिइने भएको छ । गान्धी परिवारभन्दा बाहिरको व्यक्ति अध्यक्ष हुनुपर्ने कुरा पार्टीमा उठ्न थालेपछि सोनियाले आफू अध्यक्ष पदमा नबस्ने घोषणा गरेकी थिइन् । त्यसपछि पार्टीमा नेतृत्वको संकट उत्पन्न भएपछि त्यसको समाधानका लागि आज बसेको कार्यकारी समितिको बैठकले सोनियाँ गान्धीलाई नै अध्यक्ष रहने निर्णय गरेको छ ।
पार्टी कार्याकारी समिति बैठकले एक वर्षका लागि सोनियालाई नै अन्तरिम अध्यक्षमा रहन निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सोनियाँले त्यतिबेला अध्यक्षमा नबस्ने निर्णय लिइन्, जुनबेला सोही पार्टीका २३ जना वरिष्ठ नेताहरुले अध्यक्ष परिवर्तन गर्नुपर्ने माग सहितको पत्र पार्टीमा दर्ता गराएका थिए ।
उनीहरुले गान्धी परिवारभन्दा बाहिरका व्यक्ति पार्टीको अध्यक्ष हुनुपर्ने मागसहित सात पृष्ठको पत्र पार्टीमा दर्ता गराएका थिए । सोनियाले आफु पार्टीको अध्यक्ष पदमा नबस्ने भन्दै अरु कुनै उपयुक्त पात्रलाई खोजेर अध्यक्ष बनाउने घोषणा गरेपनि मनमोहन सिंहलगायतका थुप्रै नेताहरुले उनलाई नै अध्यक्षमा रहन सुझाव दिएका थिए । यो विषयमा आज बसेको पार्टीको कार्यकारी समितिको बैठकमा निकै चर्काचर्की समेत भएको थियो ।
सन् २०१९ मा भएको चुनावमा काँग्रेसले चुनावमा कमजोर भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसपछि सोनियाँ गान्धीले सो पद सम्हालेकी थिइन् । भारत स्वतन्त्र (सन् १९४७) भएदेखि १८ पटक पार्टीको अध्यक्ष परिवर्तन भएको छ । त्यसमा पाँचजना अध्यक्ष गान्धी परिवारबाट नै बनेका छन् । भारत स्वतन्त्र भएपछि जेवी कृपलानी, पी सीतारमैया, पुरुषोत्तम दास टण्डन, युएन धेवार, नीलम, संजिव रेडी, के काम राज, एस निजलिंगप्पा, जगजीवन राम, शंकर दयाल शर्मा, देवकान्त बरुआ, के ब्रह्मानन्द रेडी, पीवी नरसिंहमा राव र सीताराम केसरी अध्यक्ष भएका थिए, जुन गान्धी परिवारभन्दा बाहिरका हुन् ।
त्यसपछि काँग्रेसमा गान्धी परिवारको युग शुरु भयो । जवाहरलाल नेहरु, त्यसपछि उनकी छोरी इन्दिरा गान्धी, छोरा राजिव गान्धी, राजिवकी पत्नी सोनिया गान्धी, सोनियाका छोरा राहुल गान्धी र त्यसपछि पुनः सोनिया गान्धी नै अध्यक्ष भइन् । भारतीय काँग्रेसको इतिहासमा सबभन्दा लामो समय १९ वर्षसम्म सोनिया नै अध्यक्ष पदमा रहेकी छिन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *