Tuesday, April 21

कास्की प्रहरीले गण्डकी प्रदेशमा पहिलो पटक सञ्चालनमा ल्यायो मोवाइल एप

नेपाल अखबार, पाेखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले गण्डकी प्रदेशमा पहिलोपटक प्रहरीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउने उद्धेश्यले ‘पाइलट प्रोजेक्ट’का रुपमा ‘नेपाल पुलिस मोवाईल एप’ सञ्चालनमा ल्याएको छ ।
समुदायमा घट्ने आपराधिक क्रियाकलाप, घटनाहरु तथा सूचनाहरुलाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले विकास गरेको सो एपले सघाउने विश्वास सहित सञ्चालनमा ल्याइएको हो ।
कार्यालयले आज ‘भिडियो कन्फ्रेन्स’मार्फत पत्रकार सम्मेलन गरी एप सार्र्वजनिक गरेको छ ।
जिल्लाको समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने उदेश्यले थप सूचनाको माध्यमका रुपमा एप गण्डकी प्रदेशमै पहिलो पटक शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।
‘एन्ड्रोइड’ र ‘आइफोन’ दुबै सेटमा सञ्चालन हुने एप्स डाउनलोड पछि सर्वसाधारणले घटनाका बारेमा आफू रहेकै स्थानबाट प्रहरीलाई जानकारी गराउन सक्ने र प्रहरी कार्यालयसम्म आउनुपर्ने बाध्यता नहुने भएकाले समयको समेत बचत हुने उनको भनाई छ ।
उनले भने,“एपका माध्यमबाट सर्वसाधारणबाट घटनाको जानकारी लिन र तत्कालै प्रहरीबाट रेस्पोन्स गरी सामाजिक सुरक्षा प्रदान गरी शान्ति सुरक्षा तथा अमनचयन कामय गर्न थप मद्धत पुग्नेछ ।”
घरेलु हिँसा,लुटपाट चोरी,ज्यान सम्वन्धी, सवारी दुर्घटना,ठगी, यौनजन्य अपराध,लागूऔषध, मानिस हराएको,हातहतियार तथा विष्फोटक पदार्थ सम्वन्धी जानकारीका बारेमा प्रहरीलाई सो माध्यबाट रिर्पोटिङ गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी नजिकको प्रहरी कार्यालयका सम्पर्क नम्वर,प्रहरी सन्देश तथा समाचार,आपत्कालीन सम्पर्क नम्वरहरु एप्समा समावेश गरिएको छ ।गुगल प्लेस्टोरबाट सो एप डाउनलोड गरी सञ्चालन गर्न सकिने कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *