Monday, May 25

त्रिविका सबै परीक्षा छटपर्व लगत्तै

नेपाल अखबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशँै अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्नेसक्ने जनाएको छ ।
“यही अहिलेको स्थितिमा हामी छठपछि परीक्षा लिने तयारीमा रहेको छौँ”, उहाँले भन्नुभयो, “स्थिति अहिलेको भन्दा जटिल भयो भने फेरि पनि के गर्ने भन्ने हुन्छ, होइन भने छठपछि सबै परीक्षा हुन्छन् ।” पनिकाले आजै नै सबै डिन कार्यालयलाई परीक्षाको तयारी थाल्नका लागि परिपत्र गर्ने उहाँले जानकारी दिनुभयो ।
त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्ने छ । पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिने छन् । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले स्थगित भएका सबै परीक्षा सञ्चालन गर्नका लागि तयार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *