नेपालअखबार, एजेन्सि। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख ४० हजार भन्दा बढी पुगेको छ।
कूल सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजार भन्दा बढी मानिस सक्रिय सङ्क्रमित छन्।
विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ।
कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार को मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ।
कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ।आजसम्म प्राप्त समाचारअनुसार भारतमा ६५ लाख ४९ हजार भन्दा बढीलाई कोरोना भाइरस सङ्क्रमण भएको र यस सङ्क्रमणबाट एक लाख १ हजार ९६० जनाको मृत्यु भईसकेको छ। रासस/एएफपी

