Thursday, April 23

यातायात कार्यालय सानोभर्‍याङबाट ६ बिचौलिया पक्राउ

नेपालअखबार, काठमाडाैं । प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योञ्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरुले सेवाग्राहीबाट जबर्जस्ती बढी शुल्क लिने गरेकाले पक्राउ गरिएको हो।

पक्राउ परेका ६ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।