अर्थप्रदेश ४समाचारहाइलाइट-समाचार

दर्ता बिनै चल्छन् गोरखाका अधिकांश प्रतिष्ठान

गोरखा । जिल्लामा सञ्चालित आर्थिक कारोबारमा संलग्न प्रतिष्ठानहरु दर्ता बिनै चल्ने गरेको पाइएको छ । तथ्यांक कार्यालय गोरखाले अघिल्लो बर्ष गरेको आर्थिक गणनाको नतिजाले यस्तो देखाएको हो ।
२०७५ सालको बैशाख र जेठमा जिल्लाभर भएको गणनाको अन्तिम नतिजा सार्वजानिक गर्दै कार्यालयले बिना दर्ता चल्ने प्रतिष्ठानको संख्या बढी रहेको बताएको छ । ‘हामीले अघिल्लो बर्ष जिल्लाको तल्लो तहसम्म गणक खटाएर आर्थिक तथ्यांक लिएका थियौ’ कार्यालयका प्रमुख जीवनाथ आचार्यले भने ‘हामीले लिएका तथ्यांकलाई केलाउदा दर्ता गरेर चलेका प्रतिष्ठान, फर्महरु कम भेटिए ।’
सदरमुकाममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कार्यालयले तथ्यांक सार्वजानिक गरेको हो । जसअनुसार जिल्लाभर ५ हजार ५ सय ४१ प्रतिष्ठान बिना दर्ता चलेका छन् भने ५ हजार ४ सय ३१ को दर्ता रहेको भेटिएको हो । जुन ४९ दशमलव ५ प्रतिशत मात्रै दर्ता रहेको र ५० दशमलव ५ बिना दर्ता चलेको कार्यालयको तथ्यांकले बताउछ ।
कार्यालयका अनुसार गोरखामा हाल १० हजार ९ सय ७२ ब्यापारिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । जसमध्ये सबैभन्दा बढी गोरखा नगरपालिकामा ३ हजार ५९ र सबैभन्दा कम चुमनुब्री गाउँपालिकामा २ सय १७ प्रतिष्ठान छन् ।
त्यस्तै जिल्लामा रहेका सो संख्याका ब्यापारिक प्रतिष्ठानहरुमा ३० हजार ४ सय २३ जनशक्ति संलग्न रहेका छन् । जसमध्ये पुरुष भन्दा महिलाको संख्या ३ हजार २ सय ३९ जना कम देखिन आउछ । १६ हजार ८ सय ३१ पुरुष हुदा महिला भने १३ हजार ५ सय ९२ जना मात्रै ब्यवसाय वा प्रतिष्ठानहरुमा संलग्न रहेको कार्यालयको तथ्यांकले देखाएको छ । सञ्चालनमा रहेका १० हजार ७ सय ७८ प्रतिष्ठानमध्ये ६ हजार ४८ ले लेखास्रेस्ता समेत राख्ने गरेका छैनन् ।
जसमध्ये कृषि क्षेत्रमा ९ सय ३८ प्रतिष्ठान मात्रै दर्ता छन् । जहाँ २ हजार २ सय ८७ जनशक्ति संलग्न रहेको तथ्यांकमा उल्लेख छ । औधोगिक उत्पादन कृयाकलापमा १ हजार २ सय ७ प्रतिष्ठान छन् जसमा ३ हजार ६ सय ३५ जना कार्यरत रहेको कार्यालय प्रमुख आचार्यले बताए । त्यस्तै थोक तथा खुद्रा ब्यवसाय तर्फ ४ हजार ८ सय ७ प्रतिष्ठानमा ९ हजार २ सय ६६ जना संलग्न रहेका छन् । आवास तथा खाना तर्फमा १ हजार ४ सय ४३ मा ३ हजार ५ सय २ जनशक्ति आवद्ध छन् ।
यसैगरी वित्तिय तथा बिमा प्रतिष्ठानको संख्या २ सय ८७ छन् । जसमा १ हजार ५० जना संलग्न रहेका छन् । शिक्षामा ५ सय १६ प्रतिष्ठान हुदा ५ हजार ३ सय जनशक्ति कार्यरत रहेको कार्यालयको तथ्यांकले बताउछ । त्यस्तै स्वास्थ्य तथा सामाजिक कृयाकलाप तर्फ सञ्चालित ६ सय ९३ प्रतिष्ठानमा १ हजार ९ सय ४३ जना संलग्न रहेका छन् । अन्य तर्फ ८ सय ५३ प्रतिष्ठानमा २ हजार ५ सय ७१ जनशक्ति आवद्ध छन् ।
गत बर्ष दुई महिना लगाएर कार्यालयले अनलाइन तथा कागजी गरी २ प्रकारले आर्थिक गणना गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतिथ्यतामा कार्यालयले गरेको सार्वजानिकिकरण कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तब्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा यदु अधिकारी, कुशललाल श्रेष्ठ, सन्तोष श्रेष्ठ, चित्र अधिकारी, तुलसी धिताल लगायतले तथ्यांकका बारेमा जिज्ञासा राखेका थिए ।

the authoradmin

Leave a Reply