Sunday, July 26

सुकीलाई थप ६ वर्ष जेल सजाय

नेपालअखबार, एजेन्सि। म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई  भ्रष्टाचार मुद्दामा थप ६ वर्ष जेल सजाय सुनाएको छ।

Advertisement

सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको थप आरोपमा सोमबार दोषी ठहर गर्दै उनको पहिलेको ११ वर्षको जेल सजायमा ६ वर्ष थपेको छ।

Advertisement
Advertisement

७७ वर्षीय सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका आरोप लगाइएका छन्।

Advertisement

समाचार संस्था एपीका अनुसार सोमबार फैसला भएका चार भ्रष्टाचार मुद्दामा सुकीले आफ्नो पदको दुरूपयोग गरी बजार मूल्यभन्दा कममा सार्वजनिक जग्गा भाडामा लिएको र परोपकारी उद्देश्यका लागि चन्दा लिएर आवास निर्माण गरेको आरोप लगाइएको थियो।

उनीमाथि स्वास्थ्य र शिक्षा प्रवर्द्धन गर्ने संस्था डाउ खिन की फाउन्डेसनको कोषको दुरुपयोगदेखि सरकारी स्वामित्वको जग्गा सहुलियत दरमा भाडामा दिएको आरोप लागेको छ।

आङ सान सुकीले आरोपलाई बेतुक भन्दै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन्।

२०२१ को फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने उनका मुद्दाको बन्द कोठाभित्र सुनुवाइ भइरहेको छ।

सैनिक कूभन्दा केही महिनाअघि २०२०को नोभेम्बरमा भएको आमचुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो।  चुनावमा  धाँधली भएको भन्दै सेनाले सत्ता हत्याएको थियो।  आफूले निष्पक्ष चुनाव गराउने सेनाको भनाइ थियो।