Saturday, July 11

चीनमा चिया निर्यात गर्न सके भारतमा भन्दा तेब्बर फाइदा हुन्छ : खनाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनमा चिया निर्यात गर्न सकेमा भारतमा निर्यात गर्दा भन्दा तेब्बरसम्म बढी फाइदा हुने बताएका छन् ।

Advertisement

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले चीनमा बजार पाउन सके नेपाली चियाका लागि नयाँ युग सुरु हुने बताएका हुन् ।

Advertisement
Advertisement

‘अहिलेसम्म हामीले भारतीय बजारमार्फत चिया निर्यात गर्दा ४ अर्बको ब्यापार हुन्छ । हरेक वर्ष चीनतिर निर्यात गर्न सकेमा त्यसको दुई वा तीन डबल प्राप्त हुन्छ । यस्तो भयो भने नेपाली चिया उत्पादनका लागि नयाँ युग सुरु हुन्छ’ खनालले भने ।

Advertisement

चीनमा नेपाली चियाको बजारका लागि आफूले व्यक्तिगत स्तरमा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणका क्रममा कुराकानी गरेको पनि उनले बताए । ‘मैले चिनियाँ पक्षसँग पनि कुराकानी गरेको थिएँ, कुराकानीमा केही प्रगति भएको छ’ उनले भने, ‘परराष्ट्रमन्त्रीलाई पनि भनेको थिएँ, उहाँले पनि केही कुराकानी गरेको संकेत पाएको थिएँ ।’

भारतका ४१ जना सांसदले नेपालको चियामा विषादी मिसिएको भन्दै आरोप लगाउँदै चियामा ४० प्रतिशतसम्म कर लगाउनुपर्छ भनेर भारत सरकारलाई सुझाव दिएको छ।

‘त्यो रिकमेन्डेसनलाई भारत सरकारले लागू गर्‍यो भने नेपालको चिया भारतमा जान बन्दा हुन्छ, नेपाली चिया उत्पादकहरु र चिया बिक्रेता ठूलो संकटमा पर्छन्’ उनले भने, ‘र यो कमोडिटी नै संकटमा पर्छ, यस अर्थमा नेपालको अर्थतन्त्र नै ठूलो संकटमा पर्छ ।’

धेरै विदेशी मुद्रा भित्र्याउने चियाको बजार संकटमा पर्न लागेको भन्दै खनालले सरकारले तत्कालै यसको अन्तर्राष्ट्रिय बजारको व्यवस्थापन गर्न जरुरी रहेको बताए । आफूले इलामदेखिका चिया उत्पादक, उद्यमीसहितको टिम लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरेको र उनले भारतीय पक्षसँग वार्ता गर्ने आश्वासन दिएका खनालले बताए ।