Sunday, July 12

दीपक मनाङेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले मनाङ ‘ख’ का प्रदेशसभा उम्मेदवार दीपक मनाङे (राजीव गुरुङ) लाई स्पष्टीकरण सोधेको छ । उनले निर्वाचन खर्चको विषयमा गरेको टिप्पणीलाई लिएर आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

Advertisement

मनाङेले ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ ३० लाखमा नेपालमा चुनाव जित्छ यार……मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनेको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले स्पष्टीकरण सोधेको आयोगले बताएको छ ।

Advertisement
Advertisement

गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेश सभा क्षेत्र नं. ‘ख’ को लागि तोकेको खर्चको सीमा २३ लाख रुपैयाँ रहेको छ । आयोगले मनाङेको अभिव्यक्ति प्रचलित निर्वाचन सम्बन्धी कानून र निर्वाचन आचारसंहिताको प्रतिकूल देखिएको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको हो र

Advertisement

आयोगले मनाङेले दिएको अभिव्यक्ति सत्य हो भने मनोनयनपत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको १५ लाख रुपैयाँको सक्कल बिल भौचर, खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैंक तथा खाता नम्बर खुलाई जवाफ दिन भनेको छ ।

निर्वाचन आयोगले तोकेको खर्च सीमा रकम साच्चै त्यस क्षेत्रका लागि अपुग हो भने कुन–कुन शीर्षकमा २३ लाख रकम खर्च भएको छ त्यसको फेहरिस्त पेश गर्न पनि मनाङेलाई आग्रह गरेको छ ।

‘तपाईंको निर्वाचन क्षेत्रको लागि कुन–कुन शीर्षकमा खर्च सीमा बढाउनु पर्ने तथा कुन–कुन नयाँ शीर्षक थप गर्न आवश्यक हो ? थप गर्नुपर्ने शीर्षक सहित वस्तुगत आधार कारण समेत जवाफमा पेश गर्नुहोला’ आयोगले मनाङेलाई भनेको छ ।

सो क्षेत्रमा दीपक मनाङे निर्विरोध भइसकेका छन् ।