Tuesday, May 26

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

नेपालअखबार, एजेन्सि। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।

समाचार पत्र द डनका अनुसार पञ्जाब प्रान्तमा बिहीबार भएको र्‍यालीका क्रममा अज्ञात बन्दुकधारीले गोली चलाएका हुन्। वाजिरावादको हो चौकमा खान चढेको कन्टेनरमा गोली हानेका हुन्।

Advertisement

इमरानको खुट्टामा गोली लागेको छ। अस्पताल भर्ना भएका उनको अवस्था खतरामुक्त छ।

गोली लागेर पाकिस्तान तेहरिक इन्साफका केही नेताहरू पनि घाइते भएका छन्।

बन्दुकधारीले स्वचालित हतियार चलाएका थिए।  उनको दलका नेताहरूले आक्रमण इमरानको हत्या प्रयास भएको बताएका छन्।

प्रधानमन्त्री शेहबाज सरिफले घटनाको निन्दा गर्दै तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।

समाचार संस्थाले एएफपीले खानका सहयोगीलाई उद्धृत गर्दै सुरक्षाकर्मीको कारबाहीमा बन्दुक चलाउने व्यक्ति मारिएको उल्लेख गरेको छ।

केही दिनअघि पाकिस्तानको निर्वाचन आयोगले खानलाई चुनाव लड्न प्रतिबन्ध लगाइदिएको थियो। गत अप्रिलमा बहुमत गुमाएपछि खानले संसद विघटन गरेर नयाँ चुनाव घोषणा गरेका थिए। सर्वोच्च अदालतले उनको निर्णय उल्ट्याइदिएपछि उनी प्रधानमन्त्री छोड्न बाध्य भएका थिए।

सत्ता छोड्नु परेपछि उनले विदेशीको इशारामा आफ्नो सरकार ढालेको भन्दै विभिन्न सहरमा र्‍याली गर्दै आएका छन्। प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध पनि उनले कानुनी उपचार खोज्ने बताएका छन्।