Thursday, May 7

अहिलेको गठबन्धन लामो समयसम्म अघि बढ्छ : प्रचण्ड

नेपालअखबार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)  ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन्  । आफू उम्मेदवार रहेको गोरखा क्षेत्र नं २ का विभिन्न मतदान केन्द्रको अवलोकन गर्न चितवनमा मतदान गरेर आज गोरखा आइपुगेका उनले पत्रकारहरूसँग कुराकानी गर्दै अहिलेको गठबन्धन लामो समयसम्म जाने बताएका हुन् ।

“यो गठबन्धनलाई लामो समयसम्म अघि बढाउनुपर्छ भन्नेमा गठबन्धनमा आबद्ध सबै दल एकमत छन्,” उनले भने, “भोलि जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छ ।” अध्यक्ष दाहालले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा गठबन्धन दलहरू बीचमा अहिले कुनै छलफल नभएकोसमेत बताए ।

Advertisement

उनले यस पटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अरू बेलाको जस्तो सामान्य निर्वाचन नभएको भन्दै यसलाई जनमत सङ्ग्रहका रूपमा लिन सकिने बताए । अध्यक्ष दाहालले यो निर्वाचन संविधानमा पटक-पटक आक्रमण गर्ने र संविधानको रक्षा गर्दै विकास र समृद्धिको यात्रा सुरु गर्न चाहने बीचको प्रतिस्पर्धा गर्ने निर्वाचन रहेको उल्लेख गरे ।

गोरखा आएर अध्यक्ष दाहालले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालुङटार नगरपालिका–२, बडडाँडा, गोरखा नगरपालिकाको छेवेटार, बिरिनचोक, तेह्रकिलो, कुन्दुरटारलगायतका स्थानमा पुगेर मतदान केन्द्रको स्थलगत अवलोकन गरेका थिए ।  रासस