अर्थसमाचारसमाजहाइलाइट-समाचार

स्याउ फल्यो, तनाव थपियो

मोहसिन अलि मियाँ
गोरखा । केहि बर्षअघि छेकमगाउँमा सबैले स्याउका बिरुवा लगाए । स्याउका बिरुवा नहुर्किञ्जेल कहिले फल्ला भन्ने चिन्ता भयो तर फलेपछि कहाँ लैजाने भन्ने थप पिरलो अहिले स्थानीयलाई छ । चुमनुब्री गाउँपालिका ७ स्थित छेकमगाउँमा अहिले घरैपिच्छे जसो स्याउका रुख छन् ।

स्याउ सबैका घरमा लटरम्मै फलेका पनि छन् । तर खै बजार, कहाँ कसलाई बेच्ने ? सबैको एउटै प्रश्न यहि छ । ‘स्याउले आम्दानी राम्रो दिन्छ भनेर बिरुवा लगाइयो, पोहोरदेखि स्याउ फल्न थालेको छ’ स्थानीय ढोल्कर लामाले भने ‘फलेर के गर्नु, न बेच्ने ठाउँ छ, न खाएर सक्किन्छ ।’

छेकमगाउँमा अहिले घरैपिच्छे जसो भएका रुखमा हाँगै भाचिने जसरी स्याउ फलेपनि विक्रिका लागि बजार नहुँदा स्थानीय चिन्तित बनेका छन् । ‘दुःख गरेर स्याउका बोट हुर्काइयो, स्याउ बिक्री हुँदैन, के गर्नु ?’ लामाले थपे ‘बजार भए त ब्यवसायिक रुपमै गर्ने सोच हो तर फलेपछि पन्छाउने कसरी झन तनाव हुने रहेछ ।’

उनकोे मात्रै होइन, छेकमका किसानका बारीमा राताम्मे भएर अहिले स्याउ पाकेको छ । तर बिक्री हुन सकेको छैन । ‘आफुले खाएर नसकिने, कति त कुहिएर जान्छन्’ अर्का स्थानीय लाक्पा लामाले भने ‘मनास्लु पदमार्गमा पर्यटक हिँडे फाट्टफुट्ट स्याउ बिक्री हुन्छ ।’

गाउँमा खुलेका होटलमा स्याउ बिक्रीका लागि राखिए पनि बिक्री हुने अवस्था नभएको स्थानीयको गुनासो छ । पाकेको स्याउ सदरमुकाम तथा काठमाडौँ पु¥याउन सके मनग्य आम्दानी हुने स्थानीयले सपना देखेपनि सडक सञ्जाल नहुँदा उनिहरुको सपना साकार हुन सकेको छैन ।

‘हेलीकोप्टर, खच्चडबाट बोलाएर बजार पुरयाउन महंगो पर्छ, फाइदा हैन उल्टो घाटा हुन्छ’ लामाले भने ‘अरु बिकल्प छैन ।’ स्याउ बिक्रि नभएपछि कतिपयले छ्याङ, रक्सी बनाउने गरेको समेत बताए ।
सदरमुकामबाट त्यस क्षेत्रमा पुग्नै करिब ४ दिन लाग्छ । राम्रो फलेपनि उत्पादित स्याउले बजार नपाउँदा छेकम्पारका मात्रै होइन उत्तरी गोरखाका किसान व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित हुन सकेका छैनन् । बजारमा भारतीय स्याउको मूल्य दिनहुँ आकासिएको छ तर उत्तरी गोरखाका विभिन्न ठाउँमा फलेका स्याउ बजारसम्म ल्याउन सकिएको छैन ।

गण्डकी प्रदेश सरकारले उत्तरी गोरखालाई स्याउको पकेट क्षेत्र बनाउने भन्दै धार्चे र चुमनुब्रीमा गत बर्ष १० हजार बिरुवा वितरण गरेको थियो । त्यस्तै यस बर्ष पनि ब्यवसायिक रुपमा विकास गर्नका लागि थप २० हजार विरुवा रोप्ने योजनामा सरकार छ तर सडक सञ्जाल र बजारको उचित ब्यवस्था नहुँदा उत्तरी गोरखाका स्याउ बजारसम्म आइपुग्न सकेका छैनन् ।

the authoradmin

Leave a Reply