Wednesday, April 29

पोखरा जहाज दुर्घटना: छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने

नेपालअखबार, पाेखरा। पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ।

काठमाडौं ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ।

Advertisement

अस्पतालका फरेन्सिकविद डा तुलसी कँडेलले फरेन्सिक र फिंगर प्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए। छ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए।

‘छ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिंगर प्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डिएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरू गरेका छौं,’ उनले भने।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिने छ। उनले ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमूना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए।

यो विधीबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्नेछ। विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौं ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो।

गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोंचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो। रासस