Wednesday, April 29

सांसद राजेन्द्र पाण्डेद्वारा धादिङमा निर्माणाधीन धार्के -सितापाईला सडक अनुगमन

नेपालअखबार, धादिङ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा धादिङ १ का सांसद राजेन्द्रप्रसाद पाण्डेले धादिङमा निर्माणाधीन धार्के -सितापाईला सडक अनुगमन गर्नुभएको छ  ।

बुधबार धादिङ आएका पाण्डेले निर्माणाधीन थाँक्रे गाँउपालिका वडा नं. १ र गल्छी गाउँपालिका वडा नम्बर ८ खयरघारी जोड्ने महेशखोला पुल र धुनिबेशी नगरपालिकाको धार्के बजारबाट काठमाण्डौको सितापाईला जोड्ने वैकल्पिक सडकको स्थलगत अनुगमन गर्नुभएको हो ।

Advertisement

धार्के -ठूलोखोला सडक खण्ड पूर्णरूपमा कालोपत्रे गरी सम्पन्न गर्न यसअघि नै ठेक्का लागेर काम भईरहेको छ । २०५१ सालमै ट्रयाक खोलिएको यो सडक त्यसयता सामान्य स्तरोन्नति हुँदै आएको थियो ।
निरीक्षणका क्रममा पाण्डेले पक्की पुल र सडक निर्माणको कामलाई समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीका प्रतिनिधि र सडक डिभिजन कार्यालय नुवाकोटका प्रतिनिधिहरुलाई निर्देशन समेत दिनुभएको छ ।

यस सडकको लम्बाइ धादिङको धार्केबाट सितापाईला सम्म २४ किलोमिटर रहेको छ । धार्केबाट तिन किलोमिटर सडक कालोपत्रे गर्ने काम केही महिना अगाडि मात्रै सम्पन्न भएको छ । उपत्यका भित्रने र बाहिरिने सवारी साधनका कारण कलंकी -नौबिसे सडक खन्डमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक सडकको रुपमा सितापाईला –धार्के सडक खन्ड निर्माण सुरु गरिएको थियो ।

निरीक्षणका क्रममा सांसद पाण्डेसँगै, धुनीबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, पूर्व उपमेयर निरु खरेल, वडा अध्यक्ष, ठेकेदार कम्पनीका प्रतिनिधी , सडक डिभिजन कार्यालय नुवाकोटका प्रतिनिधिहरु जनप्रतिनिधि र स्थानियहरुको समेत उपस्थित रहेको थियो ।