Wednesday, April 29

प्रचण्ड सरकार तासको महल हो, छोटो समयमै आफैँ ढल्छ : नैनसिंह महर

नेपालअखबार, दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस सत्ताको खेलमा लाग्न नहुने बताएका छन् । कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनमा नेता महरले  अहिलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार तासको महल जस्तो भएको बताए।

‘अहिलेको सरकारमा विभिन्न विचार र सिद्धान्त भएका मानिसहरू छन्। उनीहरूबीच आफैँमा लडाइ हुन्छ। यो सरकारलाई कसैले ढलाउनु पर्दैन। आफैँबीचमा स्वार्थ नमिल्दा छोटो समयमै सरकार आफैँ ढल्नेछ,’ महरले भने, ‘त्यसैले कांग्रेसका लागि प्रधानमन्त्री, राष्ट्रपति भनेका जनता हुन्। पाँच वर्ष उनीहरूकै बीचमा रहेर काम गर्नुपर्छ ।’ उनले मंगलबार पहिले संसद भवन अगाडि प्रेम आचार्यले आत्मदाह गरेको स्मरण गर्दै त्यो सरकारप्रतिको चरम निराशाको उदाहरण भएको बताए।

Advertisement

उनले नयाँ आएका दलहरूप्रति पनि युवाको आसा मर्दै गएको टिप्पणी गरे। मुलुकमा केही गर्छु भन्ने युवाले आत्मदाह गर्ने अवस्था सिर्जना हुनुले हाम्रो मुलुक कता गइरहेको छ भन्ने चिन्ता लागिरहेको बताए। ‘नयाँलाई पनि जनताले भरोसा गर्न सक्ने अवस्था देखिँदैन। उनीहरूका सुरुवाती स्टेपहरू नै विवादास्पद र निराशाजनक देखिएका छन्। यो अवस्था देशका लागि सुखद होइन,’ उनले भने।

राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको बताएको बताउँदै अहिले अस्थिर तत्त्वले त्यसको गलत व्याख्या गर्न खोजेको आरोप लगाए। यस्तै उनले सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताए लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे।

‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनुपर्छ, पारदर्शी हुनुपर्छ, उनले भने, ‘त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ। अबको पाँच वर्षपछि कांग्रेस एक्लै चुनावमा होमिने र एकल दुई तिहाइ ल्याउने अवस्थामा पुगाउनुपर्छ। त्यसपछिमात्र नेपालमा विकास र लोकतन्त्रको जग बलियो हुन्छ।’

कार्यक्रममा कार्यक्रममा प्रदेश उपसभापति राजु खनाल, नेताहरू खगराज पाण्डे, जिल्ला सभापति शंकरप्रसाद डाँगीलगायतले आफ्नो धारणा राखेका थिए।