प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

दवाव र प्रभावमा नपर्न महान्यायधीवक्ता खरेलको निर्देशन

गोरखा । कार्यसम्पादनका क्रममा कसैको दवाव र प्रभावमा नपर्न नेपाल सरकारका महान्यायधीवक्ता अग्नीप्रसाद खरेलले सरकारी वकिल र कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

जिल्ला सरकारी वकीलको कार्यालय गोरखाको नवनिर्मित भवन उद्घाटन गर्दै उनले सेवा प्रवाह र कार्यसम्पादनका क्रममा सधै पिडितको पक्षमा अडिक रहेर काम गर्न निर्देशन दिएका हुन् ।

‘हाम्रो कार्यालय भनेको पिडितको अड्डा हो, यहाँ आएर उनिहरुले राहतको सास फर्न पाउनुपर्छ’ खरेलले भने ‘काम गर्दा दवाव प्रभाव दुवै आउन सक्छन्, त्यसमा नपरी सधै पिडितको वकालत गर्नु ।’

मुलुकको संबिधान र कानून अनुसार भएका व्यवस्थाहरुका आधारमा स–साना मुद्दाहरुलाई आपसी छलफलबाटै टुंग्याउन सके नागरिकले कानूनी झण्झट बहोर्न नपर्ने उनको तर्क छ ।

घटनाका आरोपीलाई हिरासतमा राखेर मात्र अनुसन्धान गर्न सकिन्छ भन्ने मान्यता परिवर्तन गर्नुपर्ने महान्यायधीवक्ता खरेलले बताए ।

‘प्रमाण नष्ट गर्ने वा भागेर अन्त जाने सम्भावना छैन् र उसले गरेको अपराध पनि गम्भीर प्रकृतीको छैन् भने संकेत व्यक्तिलाई हिरासतमा लिइराख्नु जरुरी हुदैन’ उनले भने ‘अनुसन्धानमा जतिबेला पनि उपस्थित हुन सक्ने व्यक्तिलाई पक्राउ गरिराख्नु पर्दैन, उसको स्वतन्त्रताको पनि ख्याल राख्नु जरुरी छ, प्रहरी र अनुसन्धानमा संग्लन निकायले यो कुरा राम्रोसँग बुझ्नु छ ।’

अपराधी पक्राउ गर्नुअघि गहिरिएर अनुसन्धान गर्नु जरुरी रहेको उनको तर्क छ । एउटा अपराधी पत्ता लगाउनका लागि अन्य निरअपराधी व्यक्तिले सजाय पाउन हुन्न भन्ने कुरामा नेपालको न्याय क्षेत्र सचेत रहेको उनले बताए ।

‘कुनै अपराधीलाई समात्नुअघि २५ पटक सोचेर पक्राउ गर्नुस’ खरेलले भने ‘अपराधी पक्रने हतारमा निर्दोष फस्नु हुन्न, यसमा ध्यान पु¥याउन जरुरी छ ।’

सञ्चारमाध्यमले प्रकाशन/प्रशारण गरेका सामाग्रीका कारण नेपालका कतिपय घटनाहरु अन्यत्र मोडिने गरेको बताउदै उनले अनुसन्धानलाई प्रभावित गर्ने काम कसैले पनि गर्नु नहुने धारणा राखे ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको आपसी समन्वयमा मात्र संबिधानको सफल कार्यान्वयन हुने भन्दै उनले संघियताको मर्म र भावना अनुसार काम गर्न सरोकारवाला सबै लाग्नु पर्नेमा जोड दिए ।

जिल्ला न्यायधीवक्ता धर्मराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, गण्डकी प्रदेशका न्यायधीवक्ता डा. राजेन्द्र घिमिरे, जिल्ला न्यायधिश रमेशकान्त अधिकारी, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, नेपाल बार एशोसियसन गोरखाका अध्यक्ष यादव शर्मा लगायतले बोलेका थिए ।

the authoradmin

Leave a Reply