Monday, July 13

स्ववियु निर्वाचन: देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

नेपालअखबार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ।

Advertisement

आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको छ।

Advertisement
Advertisement

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्नका लागि निर्वाचन समिति गठन गरेको जानकारी दिए।

Advertisement

प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको उनले बताए। उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ।

त्रिविका सबै आङ्गिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था रहेको छ। यसअघि त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकिएको छ।

निर्देशनालयका निर्देशक अधिकारीले गठन गरिएको समिति र क्याम्पस प्रमुखलाई जिल्ला स्थिति निर्वाचन आयोगसँग स्ववियु निर्वाचनमा समन्वय गर्न अनुरोध गरिएको बताए।

सुरक्षा व्यवस्था मिलाउन पत्राचार

उनले स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालयमार्फत ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचारसमेत गरिएको बताए।

‘स्ववियु निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालयमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिएको छ। क्याम्पस प्रमुखलाई समेत स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएका छौँ,’ उनले भने।

आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ।

कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ/सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ।

यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन।

विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो। रासस