Wednesday, July 29

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्।

Advertisement

गत पुस १० गते ७ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले गत पुस २६ गते पनि विश्वासको मत लिएका थिए।

Advertisement
Advertisement

सरकारलाई समर्थन गरेका नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिई सरकारबाट पनि बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले पुन: प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका छन्।

Advertisement

प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराएपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायत दलहरूले विश्वासको मत दिने तयारी गरेका छन्।

प्रधानमन्त्रीले बहुमतका लागि १३८ जना सांसदको साथ लिनुपर्ने हुन्छ। ११ दलको समर्थन भएमा प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउने देखिन्छ। प्रधानमन्त्री प्रचण्डले आफूले शतप्रतिशत सांसदको विश्वासको मत पाउने आशा राखेको बताएका थिए।

प्रतिनिधि सभामा कांग्रेसका ८८, माओवादीका ३२, रास्वपाका १९, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, राष्ट्रिय जनमोर्चाको १, नेपाल समाजवादी पार्टीको १, आम जनता पार्टीको १ सांसद छन्। केही स्वतन्त्र सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना छ।

७९ जना सांसद भएको नेकपा एमाले प्रमुख प्रतिपक्षमा बसेको छ। १४ सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रतिपक्षमा बसेको छ। कांग्रेसलगायत दल प्रतिनिधि सभाको आइतबारको बैठकबाट सत्तापक्ष लहरमा बसेका थिए भने एमाले र राप्रपा प्रतिपक्षी लहरमा बसेका थिए। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई पार्टीले विश्वासको मत नदिने बताए।

कांग्रेस, रास्वपा, एकीकृत समाजवादी, लोसपाले पार्टी बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन्।

गत फागुन १२ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने पूर्वसन्ध्यामा कांग्रेस, माओवादीसहित ८ दलीय गठबन्धन बनेको थियो। त्यो गठबन्धनमा थप केही दल थपिएका छन्।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि अहिलेकै सरकारमा मन्त्रिपरिषद बिस्तारका काम अघि बढ्नेछ। सत्ता गठबन्धनभित्र छलफल गरेपछि कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने सहमति गरेर मन्त्रिपरिषद बिस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ।