Sunday, May 3

श्रमजीवी वर्गको हित रक्षा गर्न र लोकतन्त्रका मुल्य-मान्यता स्थापित गर्न निरन्तर अघि बढ्ने : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं ।   नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो अधिकारका लागि एकतावद्ध सङ्घर्षमार्फत् विजय हासिल गरेको गौरवपूर्ण दिनको रूपमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्  ।
श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण सम्भव छैन । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्दछ । अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको हक, हित र अधिकार स्थापित गर्न थप प्रेरणा दिने विश्वास व्यक्त गर्दछु ।
अहिले ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि बिदेसिएको छ । स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन जरुरी छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार क्रियाशील हुनुपर्दछ । सुरक्षित कार्यथलो‚ उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता सहित सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्  ।
कम्युनिस्ट आन्दोलन ‘विश्वभरका मजदुरहरू एक होऊ’ भन्ने उद्घोषका साथ शुरू भएको हो । श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने, त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ २००६ साल वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको सच्चा उत्तराधिकारीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जनताको बीचमा क्रियाशील छ ।
नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि समाजमा भएका शोषण, दमन र अन्यायसंग जुधेर श्रमजीवी वर्गको हित रक्षा गर्न र लोकतन्त्रका मुल्य-मान्यता स्थापित गर्न हाम्रो पार्टी निरन्तर अघि बढिरहने प्रतिवद्धतासहित पुनः नेपाल तथा विश्वभर रहनुभएका सवै श्रमजीवीहरुप्रति बधाई तथा शुभकामना व्यक्त गरेका छन्  ।