Saturday, July 4

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी

नेपालअखबार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

Advertisement

यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । सन्दीपले एक करोडको चेक लिएको पाइएको स्रोतले जनाएको छ ।

Advertisement
Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका  सचिव टेक नारायण पाण्डे जिल्ला प्रहरी परिसर टेकुमा बुधबार उपस्थित भएका छन् । गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।

Advertisement

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग रकम असुलेको गिरोहबाट आर्थिक लाभ लिएको पाइएपछि तत्कालीन गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ पक्राउ   परेका छन् । राईका छोरा निरजविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । निरज फरार छन् ।

राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी ५ करोड रकम लिएको पाइएको प्रहरी स्रोतको भनाइ छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ १२ चैतमै पक्राउ परेका थिए ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै रकम असुल्ने कार्यमा पूर्व गृहमन्त्री एवम् एमाले उपाध्यक्ष बादल र एमाले सचिव रायमाझीसँग निकट सम्बन्ध भएका व्यक्तिहरु संलग्न भएको विषयमा प्रतिनिधिसभाको बैठकमै कुरा उठेको थियो । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा बैठकमा कुरा उठाउँदै छानबिनको माग गरेका थिए । त्यसप्रति एमाले प्रमुख सचेतक पदम गिरीले नियमापत्ति जनाएका थिए ।