Thursday, May 7

सांसदलाई विद्युतीय हाजिरीको व्यवस्था गर्न सभामुखको निर्देशन

नेपालअखबार, काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक बसेका बेला सांसदहरूलाई विद्युतीय हाजिरी गराउन निर्देशन दिएका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विभिन्न दलका प्रतिनिधिसँगको छलफलपछि सांसदहरूको उपस्थिति बढाउन विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन दिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

बैठकमा ई–हाजिरी सुरु गर्ने र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्ने बारेमा छलफल भएको थियो । सो अवसरमा सभामुख घिमिरे भने–‘संसद्मा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद् सचिवालयलाई ई–हाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।’

Advertisement

यस्तै सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति गठन प्रक्रिया तीन दिनभित्र टुङ्ग्याउने बताउँदै ती समितिका लागि दलहरूसँग सदस्यहरूको नाम समेत मागेका छन् ।