प्रशासनसमाचार

अन्तर्वार्ता लिइरहेको मेनपावर कम्पनीमा विभागको छापा

नेपालअखबार, काठमाडौँ । साउदी कामदार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ । सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा विभागको टोलीले छापा मारेको हो ।

अनुमति नै नलिई साउदीमा हेभी ट्रक ड्राइभर, रोड मेन्टेनेन्स वर्कर र ट्रक ड्राइभरको लागि अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाको आभारको विभागको टोलीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा अनुमति लिएको तर, तोकिएको मितिभन्दा अगावै अन्तर्वार्ता लिएको पाइएको विभागले जनाएको छ

विभागका शाखा अधिकृत धर्मराज लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक कागजात हेरेको थियो । त्यहिक्रममा वैशाख १५ गते अन्तर्वार्ताको लागि मिति तोकिएको थियो । तर, कम्पनीले आजै अन्तर्वार्ता लिएको पाइएको लम्सालले बताए ।

त्यसरी तोकिएको मितिभन्दा बाहिर गएर अन्तर्वार्ता लिन पाइँदैन । उक्त कम्पनीमाथि आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।

मेनपावर कम्पनीले एउटा कम्पनीको विज्ञापन देखाएर अर्को कम्पनीको लागि अन्तर्वार्ता लिएको देखिन्छ । अन्तर्वार्ताका लागि आएकाहरूले हादी हमाद कम्पनीको अन्तर्वार्ता लिएको थियो । तर, विभागको टोलीलाई AL-TAWI FOR BULDING AND CONSTRUCTION CO.LTD को लागि भन्दै विज्ञापन देखाएको थियो ।

विभागको टोली मेन पावरको अफिसमा जाँदा अन्तर्वार्ताका लागि आएका कम्पनीका प्रतिनिधिलाई भगाएको पाइएको छ । स्रोतका अनुसार विभागका कर्मचारी जाँदा मेन पावर कम्पनीले साउदीबाट आएका प्रतिनिधिलाई भगाएर अर्को ठाउँमा लगेर राखेका हुन् । तर, विभागका प्रतिनिधिले भने उक्त कुराको चाल पाएनन् ।

विभागले यो विषयमा थप अनुसन्धान गरेर कारबाही गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछ । त्यसका लागि मेनपावर कम्पनीलाई थप कागजात पेश गर्न भनेको छ ।

the authoradmin