
नेपालअखबार, जनकपुर। जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा सरकार परिवर्तन नहुने बताएका छन् । वर्तमान सरकारभित्रै मन्त्रिमण्डल विस्तार हुने उनले बताएका छन् ।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तत्काल सरोज कुमार यादव नेतृत्वको वर्तमान मधेस सरकारलाई नै विस्तार गर्नका लागि होमवर्क सुरु भइसकेको बताउँदै आलोपालो मुख्यमन्त्री पाउने सहमति भने कार्यान्वयन हुने बताए ।
उपनिर्वाचनमा कुनै पनि दलहरूसँग कुनै पनि सर्त र सम्झौता नभएको उनले बताए । अध्यक्ष यादव गठबन्धन आबद्ध दलहरूको मुख्यमन्त्रीमा दाबी हुनु स्वाभाविक रहे पनि तत्काल कुनै पनि सम्भावना नरहेको र मधेस सरकारको नेतृत्व परिवर्तनको विषय गठबन्धनमा प्रवेश नपाएको स्पष्ट पारे ।
त्यस्तै उनले जनमतलाई सरकारमा राख्ने वा हटाउने जिम्मा प्रधानमन्त्रीलाई दिइएको बताए ।
उनले मधेस प्रदेशको नीति तथा कार्यक्रम र बजेट निर्माणमा सबैको दलसँग सहकार्य र सहभागी गराइने बताए ।
यस्तै पूर्व मुख्यमन्त्री लालबाबु राउत नेतृत्व सरकारले चलाएको बेटी पढाऊ बेटी बचाउ अन्तर्गतको पाँच हजार साइकल नबाँडेर स्टोरमा कबाड बन्दै गएको सञ्चारकर्मीको प्रश्नमा उनले, यस विषयमा सरकार जबाफदेही हुनुपर्ने बताए ।
त्यस्तै सङ्घीय सरकारमा पठाउन बाँकी रहेको जसपाको एक जना मन्त्री एक दुई दिनमै पठाउने उनले बताए ।
उनले सरकारले निजामती सेवा ऐन, प्रहरी समायोजन लगायतका अति आवश्यक कानुनहरू छिटो जारी गर्नुपर्ने बताए ।
त्यसैगरी नागरिकता सम्बन्धी विधेयक तुरुन्त प्रमाणीकरण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।


