Monday, May 11

खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार, काठमाडाैं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न माग गरेको हो। त्यसअनुसार नै शनिबारदेखि लागु हुनेगरी चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उनलाई बुधबार अदालतमा पेश गर्ने गरी म्याद थप गरिएको हो।

Advertisement

यस्तै सरकारी वकिलको कार्यालयले पनि यही चार दिनभित्र अनुसन्धान सकिने गरी म्याद मागेको प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

आइतबार कार्यालयले पूर्वगृहमन्त्री खाणका पिए नरेन्द्र केसीको बयान लिएको छ। अन्य पक्राउ परेका व्यक्तिहरूको बयान लगभग सकिसकेको छ। खाणको सम्भवत: भोलि बयान लिइने उनले बताए।

यस प्रकरणमा पूर्वगृहमन्त्री खाण, उनका पिए केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्।

टोपबहादुर रायमाझी, इन्द्रजितका छोरा निरज र बादलका छोरा प्रतीक थापा फरार छन्।

प्रहरीले यस घटनाको अनुसन्धान ठगी तथा संगठित अपराध कसुरमा अनुसन्‍धान गरिरहेको छ। यस सम्बन्धमा मुद्दा बुझाउन प्रहरीसँग समय कम छ।

संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीले ६० दिन सम्म हिरासतमा राख्न पाउँछ। तर त्यो समयअगवै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउनुपर्छ।

त्यसपछि सरकारी वकिलले प्रतिवेदन अध्ययन गरी अदालतमा मुद्दा दर्ता गर्नुपर्ने व्यवस्था छ। यस प्रकरणको अनुसन्धान चैत १२ गते देखि हुँदै आएको छ।