Wednesday, June 24

गणतन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

नेपालअखबार, काठमाडाैं। सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ।

मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा भएकाले गणतन्त्रका १५ वर्षको समीक्षासहित यस पटक तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी थालिएको सञ्चार तथा सूचना प्रवधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

Advertisement

गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मुल समारोह समिति २०८० गठन गरिएको छ। उक्त समितिले जेठ १४, १५ र १६ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको हो।

जेठ १४ गते सञ्चार माध्यममार्फत गणतन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद र जनचेतनामुलक कार्यक्रम र गणतन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने सामग्री प्रकासन/प्रसारण गरिने बताइएको छ। सोही दिन सबै जिल्लाहरूमा सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तदान कार्यक्रम आयोजना गर्नेछ।

साथै सबै पक्षको सहभागितामा सार्वजनिक तथा ऐतिहासिक स्थलको सरसफाई र डेंगी रोगविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता शर्माले जानकारी दिइन्।

जेठ १४ गते नै विभिन्न आन्दोलनका सहिद तथा बेपत्ताका परिवार र घाइतेहरूलाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्मान गर्ने कार्यक्रम तय गरिएको छ। जिल्लास्तरका फरक क्षमता भएका विद्यार्थीहरूले अध्ययन गर्ने विद्यालयमा शैक्षिक तथा उपयुक्त हुने खेलकुद सामग्री वितरण लगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ।

जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिने बताइएको छ। सबै सरकारी कार्यालय, महत्वपूर्ण स्थल, विदेशस्थित नेपाली दूतावास तथा आम जनताका घरघरमा साँझ दीपावली गर्न आह्वान गरिने मन्त्री शर्माले जानकारी दिइन्।

गणतन्त्र दिवसकै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको विशिष्ट विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा पठाउने कार्यक्रम तय गरिएको छ। जेठ १६ गते रेडियो तथा टेलिभिजनबाट जागरणमूलक गीत प्रसारण गर्ने तालिका तय गरिएको छ।

नेपाल सरकारले सबै प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ। सबै स्थानीय तहमा पनि सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्षको अध्यक्षतामा समिति गठन गरी गणतन्त्र दिवस भव्य बनाउन अनुरोध गरिएको सरकारका प्रवक्ता शर्माले जानकारी दिइन्।

‘तीनै तहका सरकारले गणतन्त्र दिवस भव्य बनाउने छन्,’ प्रवक्ता शर्माले भनिन्, ‘यसपटक सामान्य दिवसको रुपमा मात्र नभई १५ वर्षको समीक्षा र आगामी रोडम्यापसमेत झल्कने गरी दिवस मनाउने तयारी गरिएको छ।’

नेपाल सरकारले १५ वर्षे उपलब्धि समेटेर पुस्तिका नै प्रकाशन गर्ने तयारी पनि थालेको छ। जेठ १६ गते साँझ टुडीखेलमा गणतान्त्रिक सांस्कृतिक साँझको आयोजना गर्ने तयारी पनि सरकारले गरेको छ।