
नेपालअखबार, काठमाडौं । एकीकृत यातायात मजदुर संगठन नेपाल का केन्द्रीय अध्यक्ष रबि केसीले यान्त्रिक परीक्षणको आधारमा सार्वजनिक सवारीसाधन चलाउने निर्णय गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउनु भएको छ ।
उहाँले सार्वजनिक यातायातमा लागू गरिएको अव्यावहारिक २० वर्षे नीति कार्यान्वयन गरे सडक आन्दोलन गर्ने चेतावनी समेत दिनु भएको छ ।
सरकारले २० वर्ष पुराना गाडीलाई ३५ दिनभित्र कवाडी बनाउन निर्देशन दिएसँगै एकीकृत यातायात मजदुर संगठन नेपालका केन्द्रीय अध्यक्ष केसीले त्यस्तो प्रतिकृया दिनुभएको हो ।
बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै २० वर्षभन्दा पुराना गाडीलाई पत्रु बनाउन निर्देशन दिएको छ । मन्त्रालयले सवारी साधन दर्ता भएको मितिले विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य सवारी साधनको हकमा २० वर्ष नाघेका सम्पूर्ण सार्वजनिक सवारी साधन ३५ दिनभित्र पत्रु गर्ने पर्ने जनाएको छ ।


