Sunday, July 19

एक हप्ताको बीचमा दोस्रोपटक सगरमाथाको चुचुरोमा पुगे कामीरिता

नेपालअखबार, काठमाडौँ । पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन् । आज विहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका हुन्।

Advertisement

योसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका हुन् । यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका हुन् ।

Advertisement
Advertisement

कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

Advertisement

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण  गरेको कीर्तिमान छ । यही याममा पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाए।

सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७०वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।