
नेपालअखबार, जाजरकोट । कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भने, “बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।”
विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले जानकारी दिनुभयो । वडालाई बालमैत्री वडा घोषणा गरिएको छ ।

