
नेपालअखबार, काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले पत्रकार महासंघले अगाडि सारेको सदस्यता शुद्धिकरण अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका अध्यक्ष विश्वमणि सुवेदीले आईतबार एक विज्ञप्ति जारी गर्दै महासंघले ‘शुद्धिकरण’ को विषयलाई दुरुपयोग गर्दै पूर्वाग्रही गतिविधि तत्काल रोक्न महासंघ नेतृत्वसमक्ष माग गरेको छ । शुद्धिकरण सम्बन्धी मापदण्डको एकरुपता कायम गरी देशभरि एउटै मापदण्डसहित यस अभियानलाई अगाडि बढाउन अध्यक्ष सुवेदीले महासंघको प्रदेश र केन्द्र नेतृत्वसँग माग गरिएको छ ।
अध्यक्ष सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘महासंघले अगाडि सारेको शुद्धीकरण अभियानप्रति समाजवादी प्रेस संगठनको पूर्णतः साथ, समर्थन र सहयोग रहे पनि पत्रकारिता गर्ने पत्रकारहरु मात्रै महासंघको सदस्य हुनुपर्छ भन्ने मूल ध्येयका साथ यस संगठनसमेतको प्रस्तावमा महासंघको २०७९ पुस ८-९ मा सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाले उक्त प्रस्ताव पारित गरेकामा त्यस विपरीत स्मरणीय छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ ‘शुद्धिकरणको विषय र उद्देश्य सकारात्मक हुँदाहुँदै पनि विभिन्न जिल्ला शाखाले सदस्यता नवीकरणका सिलसिलामा पूर्वाग्रहवस काम गरेको पाइएको छ । बिना आधार र तर्क सदस्यको सूचीबाट ‘शुद्धिकरणमा पारिएको’ सन्दर्भमा यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । आफूखुशी मापदण्ड तय गर्ने, फरक संगठन वा समूहमा आवद्ध भएकै नाममा ‘शुद्धिकरण गरियो’ भन्ने जस्ता मनोमानी पूर्ण काम भएका छन् । कतिपय पत्रकारहरु राजनीतिक दल वा अन्य संस्थाको सदस्य भए पनि कार्यकारी भूमिकामा नरहँदा ‘शुद्धिकरण’ नगर्ने पूर्वसहमति उल्लंघन भइरहेका छन् । हाम्रो संगठनका महासचिव रामकुमार एलन, संस्थापक चमिना भट्टराई सहित थुप्रै साथीहरू त्यस्तो पूर्वाग्रही मापदण्डको शिकार हुनुभएको छ ।
त्यसबाहेक यस संगठनमा आवद्ध देशभरका थुप्रै साथीहरुलाई छानीछानी ‘शुद्धिकरण’ का नाममा महासंघको सदस्य हुनबाट बञ्चित गरिएको छ । नयाँ सदस्यता आवेदन गर्नुहुने संगठनका केन्द्रीय सदस्य एवं माउण्टेन टेलिभिजनका संवाददाता कुशल दलामी (बाँके) सहितका साथीहरु यस संगठनमा आवद्ध भएकै नाममा महासंघको सदस्य हुनबाट बञ्चित हुने स्थिति छ । हाम्रो संगठन शुद्धिकरण पक्षधर हुँदाहुँदै पनि पूर्वाग्रही भूमिका र मापदण्डको शिकार भई सदस्यता सूचीबाट नाम हटाइएको प्रति हामी घोर आपत्ति प्रकट गर्दछौं ।’


