अर्थसमाचार

नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीतिकै तयारीमा

नेपालअखबार, काठमाडौं । अर्थतन्त्रको बाह्य सूचकहरूमा सुधार भए पनि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने संकेत गरेको छ । चालू आवमा लिइएको कसिलो नीतिका कारण सुधार देखिए पनि मुद्रास्फीति अझै लक्षित सीमाभन्दा माथि रहेकाले राष्ट्र बैंक दबाबमा छ ।

अझै विश्व अर्थतन्त्रमा सुधार नआएकाले विस्तारकारी मौद्रिक नीति लिंदा आर्थिक गतिविधि खुकुलो भई पुनः शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतमा दबाब बढ्ने आकलनमा कसिलो नीतिलाई नै निरन्तरता दिने तयारी उसले गरेको हो ।

साउनको पहिलो सातासम्म मौद्रिक नीति जारी गर्ने गरी राष्ट्र बैंकले तयारी गरिरहेको छ । मौद्रिक नीतिका लागि सरोकारवालाबाट सुझाव संकलन गरिरहेको केन्द्रीय बैंकले यसका लागि असार १० गतेसम्मको समय दिएको छ ।सार्वजनिक कार्यक्रमहरूमा गभर्नर महाप्रसाद अधिकारीले विगतमा जस्तो सहुलियत र सुविधा दिन नसक्ने बताउँदै आगामी वर्ष पनि मौद्रिक नीति कसिलोहुने संकेत गरेका छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

the authoradmin