मनोरञ्जनसमाचारसमाज

महिला फिल्मकर्मीको मर्यादित रोजगारीको लागि नीति बनाउन जोड

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला फिल्मकर्मीहरूका लागि मर्यादित रोजगारी सिर्जना गर्न नीति बनाउनुपर्नेमा जोड दिइएको छ ।

नेपाल सरकारको राष्ट्रिय योजना आयोगको सहकार्यमा आईएलओ नेपाल र युएन वुमनले फिल्म उद्योगमा काम गरिरहेको महलाहरुको अवस्था र उनीहरु मर्यादित पेशाबारे एक अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले नीति निर्माणमा जोड दिएका हुन् । म्यारियट होटलमा आयोजित कार्यक्रममा फिल्म उद्योगमाथि अध्ययन गरेर तयार पारेको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । जसमा नेपाली फिल्मको अवस्था, महिलाहरूको अवस्था, महिलाहरूको मर्यादित पेशा र श्रमको उचित मूल्य तथा महिलाहरूको रोजगारीको सुनिश्चितताबारे विषयहरु समावेश भएको थियो ।

फिल्म उद्योगका महिलाहरुलाई मर्यादित पेशाबारे सजग बनाउँदै दिगो रोजगारीको सिर्जनाका लागि आईएलओ नेपाल र युएन वुमनले सरकारबाटै नीति निर्माण गरी कार्यक्रम ल्याउनु पर्ने अवस्था सिर्जनाका लागि कार्यक्रमको आयोजना गरेको आईएलओ नेपालकी प्रतिनिधि कृपा बस्नेतले बताइन् ।

फिल्म उद्योग र महिलाहरूको मर्यादित पेशा बारे प्रतिवेदन प्रस्तुत पछि उपस्थित व्यक्तित्वहरू र संघ संस्थाका प्रतिनिधिले सुझाव समेत पेश गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँल र सदस्य सचिव तोय नारायण ज्ञवालीले महिला चलचित्रकर्मीको अवस्थालाई बुझेर दिगो मर्यादित पेशाका लागि थप कार्यक्रमहरु सरकारले निर्माण गर्न सकिने बताए ।

यस्तै कार्यक्रममा वरिष्ठ कलाकार वसुन्धरा भुसाल, कलाकार तथा नृत्य निर्देशक पवित्रा आचार्यलगायतले चलचित्र उद्योगमा आफूले भोगेका अनुभव सुनाए ।

नेपाल फिल्म एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीलगायतले प्रतिवेदनमा केही गलत दाता र जानकारी रहेको भन्दै सच्याउन आग्रह गर्दै सुझावहरू दिए ।

सरकारले फिल्म नीति पास नगर्नु र उद्योगमा मान्यता दिएपनि सेवा सुविधा नदिँदा फिल्म उद्योगमा दिगो रोजगारी सुनिश्चितता नभएको समीर बलामीले बताए ।

आईएलओ नेपाल र युएन वुमनले संयुक्त रूपमा आयोजना गरेको नीति संवाद कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा महिलाका लागि मर्यादित रोजगारीका अवसरहरू बढाउन सरकारका प्रतिनिधिहरू, फिल्म क्षेत्रका चलचित्रकर्मी, नेपाली चलचित्र उद्योगसँग सम्बन्धित विभिन्न सरोकारवालाहरू र विकास निकायका प्रतिनिधिहरूलाई भेला गराइएको थियो । कार्यक्रममा आईएलओका कन्ट्रि डाईरेक्टर नुमान ओज्कानको पनि उपस्थिति रहेको थियो ।

the authoradmin