
नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमा आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । यसअघि प्रधानमन्त्रीकै आग्रहमा आइतबार दिउँसो एक बजे बोलाइएको बैठक दिउँसो तीन बजे बस्ने गरी सारिएको थियो ।
संसद् अवरोध खुलाउनेबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बिहान छलफल गरेका थिए । छलफलमा संसद् बैठकमा प्रधानमन्त्री दाहाललाई स्पष्टीकरण दिनका लागि सम्बोधन गर्न दिने नेताहरुबीच सहमति भएको थियो ।
एक कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेलगायत राप्रपा र रास्वपाले गत बुधबारदेखि संसद् अवरोध गर्दै आइरहेको थियो । ‘सहमति बनेपछि हामीले आज नै हामीले संसद् चलाऔँ भनेका थियौँ । तर, प्रधानमन्त्रीज्यूले सभामुखलाई आजको बैठक स्थगित गर्न आग्रह गर्नुभएछ,’ एमाले प्रमुख सचेतक पदम गिरीले रातोपाटीलाई बताए । प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनका लागि तयारी गर्न आजको बैठक स्थगित गर्न आग्रह गरेको बुझिएको छ ।

