राजनीतिसमाचार

आज स्वदेश फर्कँदै प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदैछन् ।

इटलीको ४ दिने भ्रमण सकाएर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन्।

उनी कतार एअरलाइन्सको विमानमार्फत विहान १० बजे त्रिभुवन विमानस्थल अवरण गर्ने प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिएका छन्।

प्रधानमन्त्री प्रचण्ड युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन साउन ६ गते  साँझ इटली गएका थिए।

त्यहाँ उनले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए।

रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा  कृषि र जलविद्युत्का क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो। भेटका क्रममा उनीहरूबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँगै कृषिमन्त्री बेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी पनि आज स्वदेश फर्कने छन्।

विमानस्थल अवतरण भएपछि प्रधानमन्त्रीले पत्रकारहरूसँग साक्षात्कार गर्ने कार्यक्रम छ।

the authoradmin