Sunday, May 24

सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्

नेपालअखबार, काठमाडौँ । यही साउन ७ गते काठमाडौँको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् ।

खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।

Advertisement

उनले भने, “विपद् व्यवस्थापनको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा सामुखुसी खोला पूरै खोजीकार्य गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजीकार्य गर्दा समेत फेला पार्न सकेको छैन, यहाँबाट बगेर जान सक्ने क्षेत्रमा रहेका प्रहरी युनिटमा समेत हामीले खबर गरेका छौँ, अहिलेसम्म फेला परेको खबर छैन ।”

बेपत्ता बालकको अहिले पनि खोजीकार्य जारी रहेको छ । काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक यही साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए ।