नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको समन्वयमा हरेक हप्ता प्रकाशन भई सरोकारवालाहरुसमक्ष पुर्याउँने गरेको कृषि मौषम सल्लाह बुलेटिनको लोकप्रियता बढ्दै गएको छ । वि.सं. २०७२ साल आषाढ २५ देखि बाँके जिल्लाका लागि प्रकाशन सुरु भएको यो बुलेटिन हाल मुलुकका ७७ वटै जिल्लालाई लक्षित गरी प्रकाशित हुने गरेको छ ।
यो बुलेटिन तयार पार्न सुरुदेखि नै संलग्न उक्त केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालका अनुसार सुरुमा विश्व बैंकको अनुदानमा सञ्चालित जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तर्गत कृषि व्यवस्थापन सूचना प्रणालीको एक संभागको रुपमा नार्क, जल तथा मौषम विज्ञान विभाग र कृषि तथा पशुपञ्छी विकास मन्त्रालयको सहकार्यमा बुलेटिन तयार गरी सरोकारवालासमक्ष पुर्याउँने काम हुँदै आएकोमा वि.सं. २०७६ मंसीरदेखि परियोजना समाप्त भएपछि नेपाल सरकारको नियमित बजेटबाटै तयार भैरहेको छ ।
रिमालका अनुसार बुलेटिनमा हरेक शुक्रबार जल तथा मौषम विज्ञान विभागबाट उपलब्ध हुने गत हप्ताको मौषमी तथ्यांक र आगामी हप्ताको मौसमी परिदृष्यको आधारमा कृषि, पशुपञ्छी तथा मत्स्यका विज्ञहरुले सम्बन्धित बालीनाली र पशुवस्तुमा मौषमी जोखिम आँकलन गरी आवश्यक प्राविधिक सुझावहरु तयार गर्ने र ती सुझावलाई बुलेटिनको रुप दिई ७५३ पालिकामा पठाउने र विभिन्न माध्यमबाट पचारप्रसार गर्ने गरिएको छ ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार उक्त बुलेटिन नेपाल टेलिभिजन, विभिन्न एफएम रेडियोहरु, नार्क वेबसाइट, नार्क कृषि मोबाइल एप्स, कृषि प्रविधि सञ्चारको फेसबुक पेजबाट प्रसारण एवं प्रकाशन हुने गरेको छ । उपाध्यायले आफूले पनि ५ बर्ष यो बुलेटिन बनाउँन संलग्न रहँदा सरोकारवालाहरुको प्रतिकृया राम्रो पाएपछि गण्डकी प्रदेशमा पनि प्रादेशिक बुलेटिन बनाउन पहल गरेको र हाल गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले समन्वय गरी कृषि अनुसन्धान निर्देशनालय, लुम्ले, वागवानी अनुसन्धान केन्द्र मालेपाटन, पशुपञ्छी विकास निर्देशनालय, जल तथा मौषम विज्ञान विभाग, लिबर्ड लगायतका कार्यालयहरुको सहकार्यमा गत बर्षदेखि गण्डकी कृषि मौसम सल्लाह बुलेटिन प्रकाशन भइरहेको जानकारी दिए ।