अर्थप्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

गोरखा–तनहुँ जोड्ने निर्माणाधिन पुल भत्कियो, यस्तो छ कारण

गोरखा । गोरखाको पालुङटार र तनहुँको तुरतुरे जोड्ने निर्माणाधिन पुल भत्किएको छ । ढलानको तयारीका लागि निर्माण गर्दै गरेको फर्मामा लगाइएको टेका मंगलबार बेलुका करिब साडे ५ बजे एक्कासी भाँचिएको थियो । मस्र्याङ्दी नदीमाथी बन्दै गरेको सो पुलको फलामे फर्मा भत्किदा काम गर्दै गरेका तिन जना कामदार घाइते समेत भएका छन् ।

ठेकेदारकाे चरम लापरवाही भयाे : स्थानीय

ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल भत्किएको स्थानीयले आरोप लगाएका छन् ।

‘हिजो बेलुकातिर म तुरतुरे जादा बाइक रोकेर पुलको मुखमा सेल्फी खिचेको गएको हो, फर्किदा त पुल पुरै लडिसकेछ’ पालुङटारका दिपेन्द्र गिरीले भने ‘ठेकेदारको चरम लापरवाहीका कारण घटना भएको हुन सक्छ, पुलको काममा त इन्जिनियरको निगरानी चाहियो नि, कामदारलाई जिम्मा लगाएर हुन्छ ?’ उनले प्रश्न गरे ।

२०७२ साल असारमा सम्झौता भई गौरी पार्वती निर्माण सेवाले सो पुल निर्माण गरिरहेको छ । ३ करोड १५ लाख रुपैयाको लगानीमा सडक विभाग अन्तरगत पुल योजना कार्यालय पाल्पाले सो पुल निर्माण गरिरहेको बताइएको छ ।

घटनामा घाइते ३ जना मध्ये एक जनाको भने अवस्था गम्भिर रहेको स्रोत बताउछ । गम्भिर घाइते भएका बर्दियाका २२ बर्षिय सुनिल चौधरीलाई मंगलबार राती नै काठमाण्डौको न्यूरो हस्पिटल लगिएको थियो । उनको आज बिहिबार ढाडको शल्यकृया गर्ने तयारी गरिएको समेत बताइएको छ ।

कामदार ओभरकन्फिडेण्ट भएर दुर्घटना भयाे : ठेकेदार

ठेकेदार कम्पनीका प्रमुख रामकुमार थापा भने पुल निर्माणमा लापरवाही नभएको दावी गर्छन् । ‘पुल भाँचिएको होइन, फर्मा लडेको हो, कामदारको ओभर कन्फिडेण्टका कारण यो घटना हुन पुग्यो’ ठेकेदार थापाले थपे ‘ढलानको तयारीमा थियौ, फर्मा लगाउने क्रममा टेका लर्केर पूरै ढलेछ ।’

९० मिटर लामो पुलको आधा भाग भने यसअघि नै ढलान भइसकेको उनको भनाई छ । बिचमा एउटा पिलर रहने सो पुलको ४५ मिटर ढलानको तयारीका क्रममा टेका राम्रोसंग नलागेपछि फर्मा ढल्न पुगेको पुल निर्माणमा खटिएका इन्जिनियर प्रेम अर्याल बताउछन् ।

‘टोटल रडको ८ सय रिङ लाग्नेमा ५० रिङ लगेर कस्दै थिए, बिचको २५/३० वटा टेका बांगो देखेर कामदारले सिधा गर्न जादा फर्मा पूरै खस्यो’ अर्याले भने । तर उनले घटना हुदा आफु भने बाहिर भएको स्विकारेका छन् ।

सम्बन्धित सरकारी अड्डाकाे गैरजिम्मेवार जवाफ

यता सडक विभागका पुल योजना कार्यालय पाल्पाका प्रमुख भिर्माजुन कडेंल भने फर्मा हावाहुरीका कारण ढलेको हुन सक्ने गैरजिम्मेवार तर्क गर्छन । ‘हिजो त्यता बेस्सरी हावा आयो रे, रड नबानेको फर्मा ढल्यो होला’ उनले भने ‘म ३ दिनको तालिममा छु पर्सि सक्किन्छ अनि मात्रै फिल्डमा गएर सत्य के हो बुझेर खबर गर्छु ।’

कार्यालयबाट नियमित निरिक्षणका लागि आफुले इन्जिनियर खटाइरहेको समेत उनी दावी गर्छन ।

सत्यतथ्य तत्काल छानबिन हाेस : मेयर कडेंल

यता पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कडेंलले घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका छन् । ‘कमजोरी भएरै घटना भएको हो, टेका एकआपसमा बाध्नुपर्ने थियो, भर्टिकल मात्रै भयो होला’ इन्जिनियर समेत रहेका नगरप्रमुख कडेंलले भने ‘कमजोरी गर्ने छुट कसैलाई हुदैन, तत्काल छानविन गरेर सत्य के हो छानविन गर्नुप¥यो, अनि अब कसरी बलियो बनाउने त्यसमा ध्यान दिनुप¥यो ।’

प्राबिधिक पठाएर जाँच गर्न निर्देशन दिएकाे छु : सिडिओ पाैडेल

त्यस्तै गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले घटनालाई लिएर आफुले सडक विभाग र ठेकेदार कम्पनीसंग छलफल गरेको बताएका छन् ।

‘घटना भएको जानकारी पाउने बित्तिकै मैले ठेकेदार कम्पनी र पुल योजनाका प्रमुखसंग टेलिफोनमा छलफल गरे’ प्रजिअ पौडेलले भने ‘कार्यालयबाट तत्काल प्राविधिक पठाएर कसरी घटना भएको जानकारी गराउन मैले निर्देशन दिएको छु ।’

सो पुल २०७७ असार मसान्तभित्र निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ तर ठेकेदार थापा भने आगामी चैत महिनाभित्रै निर्माण पूरा गरी हस्तान्तरण गरिसक्ने दावी गर्छन ।

the authoradmin

Leave a Reply