चलचित्रसमाचार

थाहामा ७ दिने चलचित्र महोत्सव हुने

Nepal Akhabar

नेपालअखबार, मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा ७ दिने चलचित्र महोत्सव (फिल्म फेटिभल) हुने भएको छ । शनिबार हेटौँडामा पत्रकार सम्मेलन मार्फत आगामी मङ्सिर ९ गतेदेखि १५ गतेसम्म ‘थाहा फिल्म फेटिभल’ आयोजना हुने जानकारी दिइएको हो ।

थाहा नगरपालिकाको सञ्चालनमा हुने उक्त फिल्म फेस्टिभलमा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय सह–सञ्चालक रहेको छ भने पर्यटन विकास बोर्डले कार्यक्रमलाई प्रचार प्रसार गर्ने आयोजक थाहा कला केन्द्रले जनाएको छ । मकवानपुरको पर्यटकीय गन्तव्यको रूपमा रहेको थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि फिल्म फेटिभल आयोजना गर्ने तयारी गरिएको कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए । उनका अनुसार थाहा नगरपालिका पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र भएपनि प्रचार प्रसारको अभावले चलचित्र निर्माताहरूको ध्यान पर्न नसकेकाले त्यसतर्फ उनीहरूलाई आकर्षित गर्न फिल्म फेटिभल महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

आगामी मङ्सिर ९ देखी १५ गतेसम्म सञ्चालन हुने फिल्म फेस्टिभलमा  नेपालका चर्चित कलाकार निर्माता निर्देशकहरूको सहभागिता गराइने उनले बताए । महोत्सवमा सन्देशमूलक चलचित्रहरू प्रदर्शन तथा थाहा नगरपालिका क्षेत्रमा पर्ने पर्यटन क्षेत्रहरूका बारेमा जानकारी गराउने जोशीले बताए ।

‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका साथ आयोजना गरिने फिल्म फेस्टिभलमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग तथा इत्यादि छायाङ्कनको स्थल विकास तथा प्रचार गर्ने उद्देश्य रहेको छ । कार्यक्रममा थाहा नगरको पर्यटन प्रवर्द्धन हुने खालका तस्बिर तथा दृश्यहरू प्रदर्शन, चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थलहरूको स्थलगत अवलोकन गराउने योजना रहेको उनको भनाई छ ।

थाहाका मुख्य–मुख्य पर्यटकीय क्षेत्रहरूको पहिचान गरी फेस्टिभलमा चलचित्रकर्मीहरू बीच प्रचार गर्ने, थाहाको बारेमा मूलभूत जानकारी गराउने, थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गराउने, चलचित्र निर्माता, निर्देशक, कलाकारलाई पालिकासँग जोड्ने लक्ष्य रहेको उनले बताए ।

त्यस्तै फेटिभल अन्तर्गत चलचित्र निर्माता, निर्देशक तथा कलाकारसँग विशेष अन्तरक्रिया गर्ने, फेस्टिभलमा सहभागी भएकाहरूबाट प्राप्त डकुमेन्ट्री, फिचर फिल्म र सर्ट फिल्महरूको प्रदर्शनी गर्ने लगायतका कार्यक्रमहरू रहेको छ ।

कुल २७ लाख ८० हजार रुपैयाँ लागतको उक्त कार्यक्रमलाई प्रदेशको संस्कृति पर्यटन मन्त्रालयले १० लाख रुपैयाँ र थाहा नगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ भने अन्य लगत विभिन्न संघसंस्था तथा व्यावसायिक प्रायोजकहरूबाट सङ्कलन गरिने जोशीले बताए ।

the authoradmin