Sunday, April 19

आज होली पर्व मनाइँदै : भेला भएर खेल्न निषेध

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई/तीन दिनसम्म होली मनाउने चलन छ ।

Advertisement

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

भेला भएर हाेली खेल्न निषेध !

यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

कोरोना सङ्क्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने/खेल्ने काम नगर्न आग्रह गरिएको छ ।

गृहमन्त्रालयले पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गदै होलीमा भिडभाड, सांगितिक कार्यकम नगर्न आग्रह गरेको छ ।

जवर्जस्ती गरे अभद्र व्यवहार मुद्दा चलाइने

यस अवसरमा कसैको इच्छा/बिना जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको गरिएकाे छ ।

इच्छा/बिना जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्नेलाई अभद्र ब्यावहारमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । बालबालिकाले पनि कसैकाे इच्छा विपरीत कसैलाई रङ तथा लोला हानेमा अभिवाभकलाई अभद्र ब्यावहारमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *