अर्थप्रदेश ४भिडिओसमाचारसमाजहाइलाइट-समाचार

निजी जिपको कमाउ धन्दा : एउटै बोलेरोले बोक्छ २५ यात्रु (भिडियो सहित)

Nepal Akhabar

गोरखा । गण्डकी गाउँपालिकाभित्र निजी जिपले जोखिम मोलेर यात्रु बोक्ने गरेको पाइएको छ । फिस्लिङको झोलुङ्गे पुल पारीबाट गण्डकी गाउँपालिका ६ को भुम्लिचोकका बिभिन्न स्थानमा एउटै बोलेरो जिपले २५ जना भन्दा बढी यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउदै आएको सिभिलखबरले फेला पारेको छ ।

निजी प्रयोगका लागि ल्याइएका त्यस्ता जिपले अनाधिकृत रुपमा गाउँपालिकाका बिभिन्न स्थानमा यात्रु ओसार प्रसार गर्दै आएका हुन ।

बोलेरोले सिट क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गराउदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको स्थानीय नै बताउछन् । यस क्षेत्रमा अन्य सवारी साधानको विकल्प नभएकाले पनि निजी बोलेरो जिपहरुको मनोमानी बढेको आरोप यात्रुहरुकै छ ।

‘फिस्लिङको झोलुङ्गे पुल वारीसम्म बोलेरो चल्छ, अरु बिकल्पै छैन’ स्थानीय सृजना गुरुङले भनिन् ‘ठिक्कसंग चलाए त ठिकै हुने हो, गाडी चढेपछि नओर्लिएसम्म सासै रोक्किएला जस्तो गरेर मान्छे कोच्छन्, नचढे हिडेर साध्य नलाग्ने, चढे ठाउँमा नपुगिएला भन्ने चिन्ता ।’

बढीमा चालक सहित ६ जना बोक्न पाउने नियम भएपनि त्यसक्षेत्रमा चल्ने निजी जिप र बोलेरोले २५ जनासम्म यात्रु बोक्ने गरेको भेटिएको हो । ६ जनाको सिटमा भित्रै ८ जना, पछाडी १० जना र छतमा समेत ७ जनासम्म यात्रु कोचेर बोलेरोले कमाउ धन्दा गरिरहेका छन् ।

‘मान्छेको त कुरै नगरौ, जति जनापनि हाल्छन, डर भन्ने त छदैछैन, पैसा भए पुग्ने रहेछ’ एक स्थानीयले सिभिलखबरसंग भने ‘यस्तो उकालो बाटो छ, त्यसमाथी पूरै कच्चि, साह्रै कहालीलाग्दो अवस्था छ ।’

बोलेरोले यात्रु धेरै हाल्ने मात्रै होइन भाडा समेत चर्को असुल्ने गरेका छन् । त्यस्ता सवारीले ३ किलोमिटर यात्रा गरेकोे ५० रुपैयासम्म यात्रुलाई भाडा तिराउने गरेको समेत पाइएको छ । ‘मान्छे धेरै हालेपछि त भाडा अलि सस्तो गर्नु नि, झन बढी माग्छन्’ नाम नबताउने सर्तमा भुम्लिचोककी एक महिलाले भनिन् ‘फिस्लिङबाट आग्रीडाँडाँ आएको ५० रुपैया रे, जम्मा ३ किलोमिटर छ ।’

फिस्लिङबाट भुम्लिचोकका आग्रीडाँडाँ, वनटार, दलभञ्ज्याङ्ग, चिसापानी, तोलक, गाउँपालिका केन्द्र लगायतका स्थानमा चल्ने यस्ता बोलेरो र जिप यस क्षेत्रमा ८ वटा रहेको सिभिलखबरलाई सुचना प्राप्त भएको छ ।

जहाँ ५० देखि २ सय ५० रुपैयासम्म भाडा तोकिएको छ । यस क्षेत्रमा चल्ने अधिकांश सवारी भाडाका भने होइनन् । सबै निजी प्रयोजनका लागि ल्याएका हुन् । तर उनिहरुले प्रहरी, प्रशासनलाई समेत चुनौती दिदै जोखिम मोलेर यात्रा गराउदै चर्को भाडा असुल्दै आएका छन् ।

त्यसो त यस क्षेत्रमा निजी नम्बर प्लेट धारीका सवारीको दादागिरीबारे गाउँपालिकाको कार्यालय र प्रहरी प्रशासन बेखबर भने होइन । बोलेरो र जिपको कमाउ धन्दामा प्रहरी प्रशासनले देखे पनि नदेखे झै गर्दा जोखिम बढेको स्थानीयकै आरोप छ ।

एक हप्तामा ३ दुर्घटना, २ को मृत्यु
यता एक हप्ताको अन्तरालमा गोरखामा तिन सवारी दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये २ दुर्घटना निजी जिप र एक ट्याक्टर छ । कच्चि बाटो र क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना भएको यि घटनाबाट प्रष्ट हुन्छ ।

फागुन २१ गते भएको दुर्घटनामा धार्चे गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङ सहित ७ जना घाइते भएका थिए । दुर्घटनामा धार्चे ६ का वडासचिव किरण रिमालको घटनास्थलमै ज्यान गएको थियो । अहिले पनि उनीहरूको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै फागुन २३ गते सिरानचोक गाउँपालिका–८ जौवारी धन्सारमा ट्याक्टर दुर्घटना हुँदा दाङका यज्ञबहादुर भण्डारीको घटनास्थलमै मुत्यु भयो भने दुई जना गम्भीर घाइते भए । त्यस्तै मंगलबार बिहान बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलामा जिप खस्दा १३ जना घाइते भएका छन् ।

यता जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख सुकबहादुर बिक पनि बाटो र सवारीको अवस्थासंगै ओभर लोडका कारण दुर्घटना बढेको स्विकार्छन् ।

‘गाउँमा सबैजसो बाटो कच्चि छ, त्यसमा पूराना जिपहरु अनि हाम्रो आँखा कान छलेर बढी यात्रु बोक्छन’ विकले सिभिलखबरसंग भने ‘थाहा पाएसम्म र भेटाएसम्म त हामीले कारबाही गरिरहेका छौ, तर हाम्रो पनि जनशक्ति कम छ, जिल्लाभर हामीले पनि चेकजाँचलाई कडाई गर्न सकेका छैनौ ।’ यस्ता बिषयमा यात्रु स्वयम सचेत बन्नु पर्नेमा उनको जोड छ ।

भिडियाे हेर्नुस्

the authoradmin