नेपालअखबार, काठमाडौ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले नेपालले जारी गरेको चुच्चे नक्साका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताउनु भएको छ ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले संसदबाट पारित भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको नगराएको बारे उहाँले चासो राख्नु भएको हो ।
‘यदि गराउनुभएको हो भने परराष्ट्र मन्त्रालयबाट कसै न कसैको उपस्थिति भएको हुनुपर्दछ । यदि परराष्ट्र मन्त्रालयमा कुनै कर्मचारीको उपस्थिति थियो भने, कुनै अधिकारीको उपस्थिति थियो भने त्यसको रेकर्ड राख्ने चलन छ कि छैन के के कुराहरु भयो भन्ने राख्ने गरिन्छ कि गरिदैन ,’ उहाँले भन्नुभयो ।
उहाँले यदि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रुपमा, कसरी गराइएको हो तत्कालीन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने बताउनु भयो ।
उहाँले परराष्ट्र सम्बन्धको सन्दर्भमा सरकारले आवश्यक ध्यान पुर्याउन नसकेको समेत बताउनु भयो । अध्यक्ष नेपालले परराष्ट्र सम्बन्धमा देखिएका कमी, कमजोरीहरुकोसमिक्षा गर्दै आगामी दिनमा दोहोरिन दिनु नहुने उहाँको सुझाव छ । उहाँले विभिन्न देशका राजदूत र सबै देशले भूराजनीतिक संवेदनशीलता बुझ्नुपर्ने समेत बताउनु भयो ।